सभामुखका कारण संसदमा भिडन्त निम्तिएको कांग्रेसको ठहर

सभामुखका कारण संसदमा भिडन्त निम्तिएको कांग्रेसको ठहर
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेका कारण संसदमा अप्रिय घटना घटेको बताए । प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन आयोजना गर्दै उनले भने, ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ ।'

प्रतिपक्षको अवरोधका बीच सभामुखले जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएपछि स्थिति बिग्रिएको थापाको भनाई छ । उनले सभामुख घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आदेश पालकका रुपमा देखिनु दु:खद भएको पनि बताए ।

‘सभामुख एउटा नेताको आदेशपालकका रुपमा भूमिकामा रहने कुरा दु:खद विषय हो,’ थापाले भने, ‘यो यसरी निरन्तर रुपमा जाँदैन भन्ने कुराको अपेक्षा गर्छौँ ।’

कांग्रेसले घिमिरेलाई सभामुखको भूमिका जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्न पनि सचेत गराएको छ । सत्तापक्षले परिस्थितिलाई मुठभेटतर्फ लैजाने स्थिति सिर्जना गरेको पनि थापाले बताए । 

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसलगायत विपक्षी दलहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि स्थिति तनावग्रस्त बनेको थियो । 

काँग्रेस सांसदहरुले रविलाई रोष्टममा जानबाट रोक्न खोज्दा एमाले अध्यक्ष केपी ओलीसहित सो पार्टीका सांसदहरु प्रतिकारमा उत्रिएपछि धकेलाधकेल भएको थियो ।

टिप्पणीहरू