फ्रान्सबाट मेयर बालेन भोलि फर्किने,रेणु दाहाल चीन जाने
फ्रान्सको कान्स शहरमा जारी ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी भएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भोलि फर्किने भएका छन् ।
१२ दिन चल्ने फेस्टिभलको ७७ औं संस्करणमा सहभागी हुन पुगेका उनी भोलि फर्किन लागेका हुन् । उता भरतपुर महानगरकी मेयर रेणु दाहाल भने चीनको चोङ्गछिनका मेयरको १० दिने निम्तोमा भोलि नै चीन जान लागेकी छन् ।
कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा बालेन गत जेठ १ गते बिहान सवा २ बजे कतार एअरलाइन्सको उडान नम्बर क्युआर ६४५ मार्फत काठमाडौंबाट दोहा हुँदै त्यता गएका थिए । उनीसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि गएका छन्।
सो क्रममा उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन् । त्यस्तै, फेस्टिभलको रेड कार्पेट र प्रिमियर कार्यक्रममा पनि सहभागी भएका छन् । कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ को चलचित्र विधाका सदस्य नगर हुन् ।
मे १४ मा शुरु भएको फेस्टिभल मे २५ मा सम्पन्न हुनेछ ।
टिप्पणीहरू