सत्ता र प्रतिपक्षबीच कुरो मिलेन, झारो टार्ने संसदीय समिति कांग्रेसले नमान्ने

सत्ता र प्रतिपक्षबीच कुरो मिलेन, झारो टार्ने संसदीय समिति कांग्रेसले नमान्ने

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि सत्ता पक्ष जिम्मेवार नभएको आरोप लगाएको छ । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गरिरहेको कांग्रेसले त्यसका निम्ति सरकारमा रहेका दलहरु जिम्मेवारपूर्ण ढंगले प्रस्तुत नभएको बताएको हो । काँग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए । 

संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको उनको भनाई छ । केही सहकारीको रकम हिनामिनामा गृहमन्त्रीकै नाम जोडिएकाले कांग्रेसले मुद्दा उठाएको स्पस्ट पार्दै लेखकले त्यसबारे छानविन गर्न सत्ता पक्ष तयार नभएको बताए । 

‘संसदीय छानबिन समिति बनाउने भन्ने कुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्ता पक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो', लेखकले भने, 'संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन ।'

प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान सुनाउँदै त्यसबाट आफूहरु पछि नहट्ने पनि प्रष्ट पारेका छन् ।

टिप्पणीहरू