विश्वासको मतको सन्दर्भमा माधव नेपाल - नो ईफ, नो बट

विश्वासको मतको सन्दर्भमा माधव नेपाल - नो ईफ, नो बट

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । 

सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पस्ट पार्नुभएको हो । आफूहरु सरकारमा भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे शंका गर्न जरुरी नभएको उहाँको भनाई छ । 

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने उहाँको प्रश्टोक्ति छ ।

'भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ', उहाँले भन्नुभयो, 'त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं ।’

अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्नेसमेत बताउनुभयो ।

टिप्पणीहरू