विश्वासको मतको तयारीमा प्रधानमन्त्री, बैठक अवरुद्ध गर्ने काँग्रेस रणनीति

विश्वासको मतको तयारीमा प्रधानमन्त्री, बैठक अवरुद्ध गर्ने काँग्रेस रणनीति
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने तयारी गर्नुभएको छ । उहाँले आज बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । प्रधानमन्त्रीले पछिल्लो डेढ वर्षको अवधीमा चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले यसबीचमा विभाजित भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले यसअघि २०७९ पुस १०, फागुन ३० र गत माघमा विश्वासको मत लिनुभएको थियो । वर्तमान सरकारलाई एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् चल्न नदिने चेतावनी दिएकाले विश्वासको मत लिने प्रस्ताव अन्यौलमा पर्ने सम्भावना बढेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म बैठक सुचारु गर्न नदिने काँग्रेसले बताउँदै आएको छ ।

संसदको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । उक्त बैठकमा प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी कार्यसूचीमाथि आवश्यक छलफल हुने बताइएको छ ।

टिप्पणीहरू