यी हुन् गिरीबन्धुझैं जग्गा सट्टाभर्ना गर्न खोजेका १०१ कम्पनी

यी हुन् गिरीबन्धुझैं जग्गा सट्टाभर्ना गर्न खोजेका १०१ कम्पनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् । 

गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्न दिने भनेपछि अन्य १०१ कम्पनीले त्यसैगरी हजारौं बिगाहा जमिन बेच्न पाउनुपर्ने माग गर्दै निवेदन दिएको उनको दाबी छ । ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने उनको भनाइ छ । 

लेखेका छन्, ‘गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु एक सय बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौं बिगाहा जमिन बेच्न पाउने निवेदन हालेका थिए । यसरी सबै कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आकंलन गरिएको छ ।’

त्यस्तै, उनले सर्वोच्च अदालतको एउटा आदेशले निवेदन दिने कम्पनीको खेलमा धक्का लागेको पनि बताएका छन् । बालेनले उक्त जग्गा बेच्न बैना लिनेहरुविरुद्ध उजुरी दिन आह्वान गरेका छन् । 

उनले भनेका छन्, ‘सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसैपनि सर्वोच्चले बाँझो भए वा अरु नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरिहालौं । अनि घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरु विरुद्ध ठगीको उजुरी शुरु गरौं ।’

गिरीबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केशरी चिया बगान, ओमटी गार्डेन प्रालि, हिम चिया बगान प्रालि, कल्पना टी–स्टेट, पदम टी–स्टेट, रोमन टी–स्टेट प्रालि, गुप्ता टी–स्टेट प्रालि, हडिया रियल टी–स्टेट प्रालि, न्यू–गिरी एण्ड सन्स, युलेन्स एजुकेसन फाउण्डेसन, द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट, काबेली इनर्जी कम्पनी लिमिटेडलगायत रहेको उनको दाबी छ ।

टिप्पणीहरू