आइजिपीले नमान्दा नमान्दै सिरोहियालाई समात्न आदेश

आइजिपीले नमान्दा नमान्दै सिरोहियालाई समात्न आदेश
सुन्नुहोस्

गृहमन्त्री रवि लामिछानेले आइजीपी बसन्त कुँवरको समेत सल्लाह लत्याएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्न प्रहरीलाई दबाब दिएको थाहा हुन आएको छ । 

प्रधानमन्त्री कार्यालयस्थित स्रोतले दिएको जानकारीअनुसार सिरोहियालाई समात्नुअघि गृहमन्त्री र आइजीबीच त्यसबारे सरसल्लाह भएको थियो । आइजी कुँवरले 'खासै दम भएको मुद्दा हैन,हात नहाल्ने हो कि हजुर !' भनी घुमाउरो ढंगले पक्राउ गर्न नहुने सुझाव दिएका थिए । 

तर, गृहमन्त्री लामिछाने सहमत भएनन् । 'गृहमन्त्रीले नै चाहेपछि रोक्ने कुरा त भएन, तर यस्ता कमजोर विषयमा हात हाल्दै हिँड्नु राम्रो हुँदैन भन्ने आइजी सा'पको कुरा थियो', उक्त स्रोतले भन्यो । 

रास्वपाकै एक कार्यकर्ताले हालेको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गराई मंगलबार दिउँसो थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाट सिरोहिया पक्राउ परेका थिए । सहकारीको बचत हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुने समाचार लेखिरहेको कान्तिपुरका अध्यक्ष पक्राउ परेपछि धेरैले यो घटनालाई राज्यले मिडियामाथि प्रतिशोध साँधिएको दाबी गरिरहेका छन् । 

यस घटनालाई लिएर आमरुपमा विभिन्न खाले धारणा र टिकाटिप्पणी भैरहँदा गृह प्रशासनको नेतृत्व गर्नेहरुकै वीच यौटै मत नदेखिएको हो । त्यसो त, सहकारी ठगीमा गृहमन्त्रीलाई उम्क्याउने खेलमा सरकारलाई निरन्तर साथ दिँदै आएका आइजी कुँवर केही समययता लामिछानेका कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रहरी वृत्तमा चर्चा छ । 

सहकारी ठगीमा जोगाउन सक्दो प्रयास गर्दागर्दै पनि सुप्रिम सहकारीको विषयमा गृहमन्त्रीले अनावश्यक पेलेको र प्रहरी सरुवामा समेत एकलौटी गरेको भन्दै आइजी चिढिएका कारण अहिले हित्तचित्त मिल्न छोडेको बताइन्छ ।

टिप्पणीहरू