सहकारीको नाम राख्ने, रविको नराख्ने ! भएभरका नेता बालुवाटारमा भेला

सहकारीको नाम राख्ने, रविको नराख्ने ! भएभरका नेता बालुवाटारमा भेला

सहकारी ठगी प्रकरणबारे गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारबारे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आजै सहमति जनाउने दावी गरिएको छ । ठगीमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भनिएका पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र तिनबाट ऋण प्रदान गरिएका संस्थाको नाम उल्लेख गर्ने सहमतिको प्रयास भएको बताइन्छ ।

ती सहकारी संस्थाले ऋण लिएका गोर्खा मिडिया र गोपिकृष्ण मुभिजको छानबिन गर्ने तर,गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख नगर्ने अस्ति बसेको कार्यादेश मस्यौदा कार्यदलको बैठकमा मोटामोटी सहमति भएको बताइएको थियो । तर,आज बिहान साढे ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसेको छ । बैठकमा नेपाली काँग्रेसका तर्फबाट नेताहरु पूर्णबहादुर खड्का,कृष्ण सिटौला, गगन थापा,रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार छन् । एमालेबाट कानुनमन्त्री पदम गिरी,महेश बर्तौला, माओवादीको तर्फबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले,सन्तोष परियारलगायतको सहभागिता छ ।

गोर्खा मिडियाले मात्रै सूर्यदर्शन,सहारा,सुप्रिम, स्वर्णलक्ष्मी सहकारीबाट ९५ करोडभन्दा बढी ऋण लिएको देखिन्छ । गोपीकृष्ण मुभिजले गोर्खाबाट २५ लाख र नोबडी प्रडक्सन प्रालिले पनि गोर्खा मिडियाबाट  पाँच करोड ३५ लाख लिएको देखिन आएकोछ । उक्त प्रडक्सनका मालिक रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा छँदा क्रियटिभ डाइरेक्टर रहेका विपिन आचार्य हुन् । उनी अहिले रास्वपाको सहमहामन्त्री छन् ।

आज बसेको शीर्ष नेताहरुको बैठकले कार्यादेश टुंगो लगाउने जानकारी दिइएको छ । अस्ति बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको सत्तारुढ दलका प्रतिनिधिहरुको दाबी छ । 

तर, नेपाली काँग्रेसले ऋण लिने संस्थाका जिम्मेवार अधिकारीहरुको नाम किटानीसाथ लेखिनुपर्ने अडान राख्दै आएको छ । सत्तारुढ दलका प्रतिनिधिहरुले रविको नाम उल्लेख नगर्ने अडान राखेपछि कार्यदल बैठकमा काँग्रेस प्रतिनिधि जीवन परियारले उक्त विषयलाई शीर्ष नेताहरुको जिम्मामा छाड्नुपर्ने बताएका थिए  । आज शीर्ष नेताहरुको बैठकअघि कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।

टिप्पणीहरू