'समृद्ध नेपालको सपना साकार पार्ने प्रयासको प्रतिफल गणतन्त्र'

'समृद्ध नेपालको सपना साकार पार्ने प्रयासको प्रतिफल गणतन्त्र'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । सामूहिक प्रयास र सहकार्यबाट राजनीति व्यवस्था परिवर्तन सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसले संघीयता र गणतन्त्रसहितको संविधान निर्माणको काम सफल भएको बताउनुभयो ।

“गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै । यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो', प्रधानमन्त्रीले भन्नुभयो, 'हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत् राजनीतिक व्यवस्था परिवर्तन गर्यौं र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्‍घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ ।'

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिकरूपमा क्रान्तिको एउटा अध्याय पूरा भएता पनि त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्‍टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोशिश भइरहेको भन्‍ने आफूले सुनेको तर यस्ता प्रयासहरू सफल नहुने पनि उल्लेख गर्नुभयो । त्यस्ता गलत प्रयासलाई असफल पार्न सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दाहरूमा राष्‍ट्रिय सहमति र सहकार्य आवश्यक्ता उहाँले औँल्याउनुभयो । 

'संसारभरिको अनुभव हेर्दा इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन', प्रधानमन्त्रीले भन्नुभयो, 'हाम्रो मुख्य कोशिस भनेको देशका लागि राम्रो मात्र गर्ने हो । केही पनि हुँदैन, सकिँदैन भन्‍ने भाष्य चिर्दै थप उपलब्धिहरू हासिल गर्दै अघि बढ्ने हो ।'

देशमा केही पनि भएन भन्‍नेहरूका लागि समावेशीता, स्वतन्त्रता, सामाजिक-आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा गणतन्त्रपछिका उपलब्धिहरूले ठोस जवाफ दिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

नागरिकका आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक-सामाजिक रूपमा सबल र समुन्‍नत राष्‍ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउँदै उहाँले स्वतन्त्र र सन्तुलित परराष्‍ट्र नीति अवलम्बन गर्दै राष्‍ट्रिय हितको रक्षा गर्न सरकार दृढ रहेको पनि प्रष्ट पार्नुभयो । 

छिमेकी मुलुक र अन्य मित्रराष्‍ट्र तथा अन्तर्राष्‍ट्रिय सङ्‍घ संस्थाहरूसँगको सम्बन्ध सुदृढ भएकाले यसैको फलस्वरूप आगामी २०८३ सम्ममा नेपाल अतिकम विकसित राष्‍ट्रबाट विकासशील राष्‍ट्रमा स्तरोन्‍नति हुने सुनिश्‍चित भएको उहाँको भनाई छ । प्रधानमन्त्रीले भन्नुभयो, 'सम्वत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्‍ट्रको स्तरमा पुग्ने अभियान जारी छ ।' 

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत भएको बताउँदै प्रधानमन्त्रीले अगाडि भन्नुभयो, 'गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ। वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो ।'

उहाँले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार भएकाले यसका लाभलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको बताउनुभयो। पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको दाबी पनि गर्नुभयो । 

गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अझ बृहतस्तरमा राष्‍ट्रिय एकताको सन्देश दिन र सबै नागरिक एकतावद्ध भई साझा हितका लागि परिचालन हुन जरुरी रहेको उल्लेख गर्दै उहनाले तीनै तहका सरकार यौटै लय र तालमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
 

टिप्पणीहरू