मजाक धेरै गर्न थाले महाशयहरू

मजाक धेरै गर्न थाले महाशयहरू
सुन्नुहोस्

प्रसंग हो, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको र विषय चनियाँ अनुदान र ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ।

पोहोर पुस १७ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको पोखरा विमानस्थलको काम सक्न चीनसँग यही जेठ १८ गते सकिने ऋण सम्झौताको म्याद अझै दुई वर्ष थप्नु पर्छ भन्ने निर्णय गराएर नवौँ तहको अधिकृत जाने कार्यक्रममा दुबई उडेका अधिकारीले विदेश जानुअघि महालेखा परीक्षक तोयम रायलाई पनि पाठ पढाएपछि मजाको झपार भेटेका छन् । 

दुई वर्षअघि हतारिँदै विमानस्थल निर्माण सम्पन्न भयो भनेर उद्घाटन गर्ने प्रधानमन्त्री नै अहिले पनि बहाल हुनुहुन्छ, २०७८ माघ १७ गते सोमबार महानिर्देशक नियुक्त भएका अधिकारीका काण्डैकाण्ड भइरहँदा भर्खरै सोही विमानस्थलका लागि ८४ करोड रुपैयाँको बजेट छुट्याई अर्को काण्ड मच्चाउन लागेका प्रमाण जनआस्थाले फेला पारेको छ । उनले ठेकेदार कम्पनीलाई चार पटक पत्राचार गर्दा सम्पर्कमा नआएको भन्दै एक्जिम बैंकले ऋणको अन्तिम किस्ता बुझ्ने म्याद उही मे ३१ मा सकिनैलाग्दा म्याद अरु २ वर्ष थप्न पनि प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीले दुई वर्षअघि नै उद्घाटन गरेको योजनाको अझै उनै प्रधानमन्त्रीबाट म्याद थपमा स्वीकृति होला, नहोला, चासोको विषय त छँदैछ, सरकारले म्याद थपेछनै भने पनि २५ प्रतिशत अनुदान र ७५ प्रतिशत ब्याज तिर्नु पर्ने ऋणको भाका सार्न चीन सरकारले मान्ला कि नमान्ला भन्ने प्रश्न उठेको छ । 

एकातिर योजनाको म्याद सकिँदैछ । यम शर्मा भण्डारीसहितका कन्सल्टेन्टहरुको सामुहिक राजीनामा भइकेको छ । परामर्शदाता बाहिरिएको छ । यस्तो अवस्थामा प्राधिकरणकै पैसाबाट विमानस्थलमा ठेकेदारले नगरेका केही काम गर्न भनेर अधिकारीले आगामी बजेटमा ८४ करोड रुपैयाँ मागेका छन् । विमानस्थल बने पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छैन, यसर्थ पैसाको लफडामा पर्न विमानस्थल प्रमुख नवीना कर्माचार्यले मानेकी छैनन् । चिनियाँले बनाएर पूर्णतः ह्याण्डओभर नगर्दै दोहोरो काम देखिने भएपछि आयोजना प्रमुख बिनेश मुनकर्मी पनि यो काम गर्न सकिन्न भन्नेमा छन् । 

यता, विमानस्थलको प्रगति र देखिएको बेरुजुबारे छलफल गर्न महालेखामा जेठ ४ गते शुक्रबार प्रमुख तोयम रायाले अधिकारीलाई बोलाएका थिए । प्राधिकरणसँग सम्बन्धित बेरुजुबारे छलफलका लागि अधिकारी सिए बोकेर पुगे । पर्यटन मन्त्रालयको सचिवसमेत राखेर छलफल गर्ने भन्दा संयोगले सचिव डा. गणेश पाण्डे स्वीटजरल्याण्ड गएको पाइएपछि निमित्त सचिवविनाको छलफलमा अधिकारीले रायाको यस्तरी हुर्मत लिए कि, हुनु नहुनु बोले । ‘गेसपेपर घोकेर आएको जस्तो, रत्नपार्कमा भाषण ठोकेजस्तो आयोजनाको काम नहुने जस्तै कुरा मार्फत् अधिकारीले तपाईंलाई प्राविधिक कुरा के थाहा छ भन्दै रायाको अपमान हुने गरी लामै समय बोले । आफूलाई सबभन्दा राम्रो, सुशासनको हिमायती र अरु केही जान्दैनन् भन्दै उनले बेरुजु पनि गलत देखाइएको दाबी गरे । संयोग कस्तो भने भन्सारको महानिर्देशक हुँदा प्राधिकरणको बोर्ड सदस्य भएर अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा रायाले काम गरिसकेको अधिकारीलाई थाहै भएन । अहिले पनि १५ महिनादेखि अर्थका प्रतिनिधि अधिकारीको बोर्ड बैठकमा आएका छैनन् । कारण उनै अधिकारीले कहाँ लगेर फसाउँछन् भन्ने डर नै हो । 

अधिकारीको कुरा सुनेपछि रायाले पनि तपाईंका बारे पत्रपत्रिका, मिडिया, मुद्दा सबै थाहा भएकै विषय भएको सम्झाउँदै संवैधानिक निकायलाई गेसपेपर घोकन्ते, रत्नपार्केको भाषा प्रयोग नगर्न र पहिला पदीय मर्यादा, आचरणमा बस्न भनिएपछि अधिकारी कालोनीलो भएका थिए । रायाले राज्य संयन्त्रमा अरु जान्ने छैनन् भन्ने नबुझ्नुहोला भनेर झपार्दै हैसियतमा बस्न अनुरोध गरेर तपाईंको कुरा पछि सुनौँला भनेर बिदा दिएपछि उनी लुरुक्क परेर फर्केका थिए ।  यिनै अधिकारीलाई अख्तियारले १५ दिनको म्याद राखेर १३ पाने भराइसकेको छ । उनले त्यो नभर्नका लागि प्रधानमन्त्री पुत्री गंगा दाहालमार्फत अख्तियारमा फोन गराए पनि कामयाव हुन सकेन । 

चिनियाँ पक्षले ‘डिप्लोम्याटिक नोट’ पठाएर अन्तिम किस्ताको म्याद सकिन लाग्यो भनिरहँदा जेठ ३ गते बिहीबार प्राधिकरणबाट निर्णय गराएर दुई वर्ष म्याद थप्नु पर्ने भन्दै फाइल पठाएपछि अर्थले यसमा मन्त्रीस्तरीय निर्णय चाहियो भनेर अड्काइदिएको छ । मन्त्रीस्तरीय निर्णय निम्ति तल्लो तहदेखि नै फाइल तयार पार्नुपर्छ । अन्तिममा मात्रै मन्त्रीले सदर गर्ने हो । यो तनाव थपिएपछि अधिकारी साउदी अरबमा ‘विमानस्थल सुरक्षा’ सम्बन्धी नवौँ र दशौँ तहको कर्मचारी गए हुने कार्यक्रममा उपनिर्देशक उत्सव खरेललाई लिएर गएका छन् । ३ दिनको कार्यक्रमलाई ८ दिने बनाएका अधिकारी हङकङ पनि जाने संभावना छ । साह्रै तनाव भएपछि पछिल्लो समय तान्त्रिक गुरुको शरणमा छन्, उनी जेठ ६ गते फ्लाइ दुबईबाट साउदी गएका अधिकारी यसअघि भुटानमा पनि यस्तै सानो बैठकका निम्ति गएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू