शहरबाट उडाउने, गाउँमा कुदाउने

शहरबाट उडाउने, गाउँमा कुदाउने
सुन्नुहोस्

काभ्रे जिल्लाको विकट पालिका खानीखोला, महाभारत, रोशी, तेमाल, चाैँरीदेउराली र भुम्लुका ग्रामीण क्षेत्रमा चल्ने अधिकांश मोटरसाइकल चोरीका हुने गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । राजधानी उपत्यकासँगै काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक नगर बनेपाबाट अत्यधिक मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २०८० भदौदेखि २०८१ जेठ ८ गतेसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ वटा मोटरसाइकल तथा स्कुटर हराएका छन् । जसमध्ये १६ वटा फेला परेका छन् । जेठमा पनि धमाधम मोटरसाइकल चोरी हुने, चोरसहित बरामद हुने क्रम बढेको छ । ०८१ जेठ ७ गते राति ११ बजे पनौती नगरपालिका–४ सल्लेस्थित कुमार तामाङको नाममा रहेको बा ६५ प ३१८ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र सुजन भुजेलको नाममा रहेको बा७४ प ५६६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको थियो । ०८१ जेठ २ गते बिहान ३ बजे गस्तीमा खटिएको प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भएका ३६ वर्षीय गर्जन दियालीलाई धनेश्वरबाट वा ४६ प ३३६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पनौती सडकबाटै पक्राउ गर्‍यो ।

दियालीले चोरी गरेको मोटरसाइकल बनेपा– ७ स्थित बनेपा–पनौती सडकखण्डमा बिनाहेल्मेट डोर्‍याउँदै गर्दा शंका लागेर प्रहरीले सोधपुछ गरेको थियो । शंकास्पद अवस्थाका दियाली बाइक छाडेर भाग्न खोजे । गस्तीमा रहेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिँदै हेल्मेट र कागजपत्रबारे सोधखोज गर्दागर्दै उनी भाग्न खोजेका थिए । प्रहरीले चोरी गरेर ल्याएको बाइक हुन सक्ने आशंकाका भरमा उनलाई थप केरकार गरेपछि पक्राउ परे । उनले गिरोहबारे अझै खुलाएका छैनन् । ०८१ वैशाख ३० गते राति बनेपा बसपार्कबाट बिनाहेल्मेट मोटरसाइकल चलाएर आउँदै गरेका काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका–६ का २५ वर्षीय होइसेर थिङ तामाङ र सोही गाउँपालिका – ७ का २४ वर्षीय बुद्ध मोक्तान र २२ वर्षीय अनिल स्याङतान समातिए । बनेपा नगरपालिका–८ स्थित मंगोलियन लाउञ्ज बारको पार्किङस्थलबाट चोरी लगेको उक्त मोटरसाइकल बिना हेल्मेट चलाइरहेको अवस्थामा थियो । चाबी नभएको र तार चुँडाइ चाबीको ज्याकमा जोडिएको अवस्थामा फेला परेको उक्त मोटरसाइकल तथा चालकसमेतलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरेको थियो । पक्राउ परेका सवारी चालकले बयान दिएलगत्तै प्रहरीले थप दुई जनालाई समेत पक्राउ गरेको थियो । पनौती नगरपालिका– ५ घर भएका १९ वर्षीय पनिस भुजेल र २० वर्षीय रुविन भुजेलले दुई वटा मोटरसाइकल चोरी गरेका थिए ।

गाउँकै मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा स्थानीयले देखेका कारण छाडेर भागेका ती युवा सिसीक्यामेराका आधारमा पक्राउ परेका हुन् । यसअघि प्रहरीले मोटरसाइकल ग्यारेज सञ्चालक, कवाडी पसल तथा मोटरसाइकल पार्टपुर्जा बिक्री गर्ने पसलका व्यवसायीलाई समेत सोधपुछ गरेको थियो । मोटरसाइकल चोरी गर्ने गिरोहले सिधै मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने, पार्टपुर्जा अलग–अलग पारी बिक्री गर्ने तथा ग्रामीण भेगमा पठाउने गरिएको खुलासा भए पनि प्रहरीले हालसम्म गिरोह पत्ता लगाउन र चोरी नियन्त्रण गर्न सकिरहेको छैन । इलाका प्रहरी कार्यालय बनेपा मात्र होइन, जिल्ला प्रहरी कार्यालय र मातहतका निकाय पनि चोरी नियन्त्रण गर्न असफलजस्तै देखिएका छन् । बनेपा नगरपालिका–६ रातमाटाबाट २०८० चैत १५ गते धुलिखेल नगरपालिकाका इञ्जिनियर हरेराम हुमागाईंको बागमती प्रदेश ०२–०३ प १८५६ नम्बरको मोटरसाइकल घरभित्र पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो । उनले प्रहरी कार्यालयमा चोरी पत्ता लगाउन र मोटरसाइकल खोजिदिन पटक–पटक अनुरोध गरे । प्रहरीले खोजिरहेको छु भन्नेबाहेक अरु जवाफ दिन सकिरहेको छैन । मोटरसाइकल पनि फेला परेको छैन ।

जिल्लाबाट हराएका वा अन्यत्रबाट हराएका मोटरसाइकल तथा स्कुटर चोरी गर्ने अलग–अलग व्यक्ति छन् कि ? गिरोह नै छ ? एकै रात वा दिउँसै पनि विभिन्न स्थानबाट ४ वटासम्म मोटरसाइकल चोरी हुने गरेका छन् । चोरी भएका सवारीसाधन तत्काल कसरी अन्य स्थानमा सही सलामत पर्‍याइन्छ ? ०८१ वैशाख १ गते राति ४ वटा मोटरसाइकल चोरी भएका छन् । बनेपा–५ जलेश्वरमा मन्दर लामाको मोटरसाइकल साँझ ६.३० बजे चोरी भयो भने बनेपा १३ शिव मन्दिर नजिकैबाट साँझ ७.१५ बजे विष्णु तामाङको मोटरसाइकल चोरी भयो । सोही राति ८ बजे बनेपा–७ गोदामचोकबाट बोलप्रसाद सापकोटाको मोटरसाइकल उडाइयो । बनेपा–६ बुडोलबाट कुमार मैनालीको मोटरसाइकल सोही राति चोरी भयो ।

चोरले लगेको मोटरसाइकलमा आगलागी भएपछि त्यहीँ छाडेर भाग्यो । तैपनि त्यो समूह पत्ता लाग्न सकेन । एकै दिन फरक–फरक समयमा चोरी भएका मोटरसाइकल एउटा व्यक्तिले लैजान सक्ने सम्भावना नभएको अनुसन्धानमा संलग्नहरूले बताएका छन् । गिरोहले समय र स्थानको लोकेसनसमेत मिलाएर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । अनुसन्धान निरन्तर गरिरहे पनि गिरोहसम्म पुग्न नसकिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदीले बताए ।

०८० भदौमा १० वटा सवारी साधन चोरी भएका छन् । जसमा एउटा फेला परेको थियो । असोजमा १० वटा चोरी भए । उक्त महिनामा ४ वटा फेला परे । कात्तिकमा ५ वटा चोरी भए । ३ वटा फेला परे । मंसिरमा ४ वटा हराए । २ वटा फेला परे । पुसमा ८ वटा हराए । एउटा फेला पर्‍यो । माघमा २ वटा हराए । फागुनमा ८ वटा हराए । एउटा फेला पर्‍यो । चैतमा ५ वटा हराए । २०८१ वैशाख महिनामा १२ वटा मोटरसाइकल हराए भने जेठ ५ गतेसम्म ३ वटा हराए । दुईवटा फेला परे । ०८१ वैशाख २२ गते राति बनेपाबाट चौंरीदेउराली गाउँपालिका–३ का अध्यक्ष चित्रप्रसाद चौलागाईंले चढ्ने गरेको मोटरसाइकल पनि चोरी भयो । उक्त मोटरसाइकल अझै फेला परेको छैन । प्रहरीलाई टाउको दुखाइ बन्दै गएको मोटरसाइकल चोरी नियन्त्रण कसरी हुन सक्छ ? डिएसपी सुवेदी भन्छन्– ‘अनुसन्धान जारी छ । नियन्त्रण गर्ने प्रयत्नमा छौं ।’

– मोतीराम तिमल्सिना

टिप्पणीहरू