मध्यरातदेखि भारतसँग सीमा जोडिएका नाका बन्द

मध्यरातदेखि भारतसँग सीमा जोडिएका नाका बन्द
सुन्नुहोस्

भारतसँग सीमा जोडिएका रुपन्देहीका नाका बन्द गर्न लागिएको छ । भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा आगामी शनिबार हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमाना बन्द गर्न लागिएको जनाइएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आज राति १२ बजेदेखि सिद्धार्थनगर नगरपालिकाअन्तर्गत पर्ने बेलहिया नाकालगायत भारतसँग जोडिएका सबै सीमानाका बन्द गरिने जानकारी दिए । 

सिडियो कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०८१ जेठ १६ गते रातको १२ बजेदेखि मिति २०८१ जेठ १९ गते रातको १२ बजेसम्म सिद्धार्थनगर नगरपालिका अन्तर्गत पर्ने बेलहिया नाकालगायत भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लासँग जोडिएका सबै सीमानाकाहरु बन्द रहने जानकारी गराइन्छ ।’

नेपाल र भारतमा चुनाव हुँदा ४८ घण्टाअगाडि सीमानाका बन्द गर्ने प्रचलन छ । सोहीअनुरुप भारतबाट पत्र आएकोले नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।

टिप्पणीहरू