कति मात्र खेद्नु ‘कर्णेल’लाई

कति मात्र खेद्नु ‘कर्णेल’लाई
सुन्नुहोस्

मुली चुपचापै घर जालान् र अभर पार्लान् भनेर अहिले जंगी अड्डामा चिन्ता छाएको छ । सेनापति प्रभुराम शर्माको कार्यकाल ६ हप्ता बाँकी छ ।

नियमित पिएसओज मिटिङ, अपरेशनल ब्रिफिङजस्ता कामहरु नहुने र यसपछिका सेनापतिबारे अहिलेसम्म कुनै सुरसार नभएपछि दोस्रो वरियताका अशोक सिग्देल चिन्तित छन् । घर जाने बेला नयाँ हुने प्रधानसेनापति सिफारिस गर्ने काम बहालवालाको हुन्छ ।

अशोकपछिका निर्मल थापा उत्तिकै प्रभावशाली रहेको र ताराध्वज पाण्डेका हकमा झैं यी दुवैमाथि शैक्षिक प्रमाणपत्र र उमेरको कैफियत रहिरहेको हुँदा बीचमा कहीं, कतैबाट छिर्के हानिने खतरा अनि सेनापतिको मौनता बिझ्ने गरेको कतिपयको बुझाइ छ ।

उता, टिंकर सडकमा ३ करोड रुपैयाँ हिनामिनाको आरोपमा कर्णेलबाट घटुवा भएर मेजरमा झरेका, पूर्वसेनापति राजेन्द्र क्षेत्रीका भाञ्जा, लमजुङका हरिबहादुर बोहरा २४ बाहिनी जुम्ला धपाइएका छन् । घटुवा हुँदा पनि जागिर नछाडी बसेका उनी लगातार दुःख पाउनेमा परेका हुन् ।

सडकको रकम हिनामिनासम्बन्धी मुद्दामा पुस १२ गते १ करोड ९४ लाख तिराइएर मेजरमा झरेका बोहोरा त्यसलगत्तै विराटनगर पठाइएका थिए । त्यहाँबाट फेरि जुम्ला धपाइएको छ । उसो त पछिल्लो समय सेनामा कसको कति महिनामा कहाँ पोष्टिङ हुन्छ भन्ने पनि यकिन हुन छाडेको छ । 

यसबीच, महावाणिज्यदूत भएर पनि दूतावासकै अभ्यास गरिरहेको वीरगञ्जस्थित कार्यालयमा पनि भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ्स’ (रअ) का शक्तिशाली हाकिमले काम शुरु गरेका छन् । ‘रअ’ प्रमुख बनेर सञ्जयकुमार राय जेठ ५ गतेदेखि त्यहाँ हाजिर भएका छन् । उनी लैनचौरस्थित दूतावासका फस्र्ट सेक्रेटरीभन्दा कनिष्ट अधिकृत हुन् ।

पहिला भुटानमा मोर्चा सम्हालेका थिए । महावाणिज्यदूतले खासगरी मधेशका आठ जिल्ला हेर्ने गरेको छ । अर्कोतिर, नर्थ डेस्कका चिफ अतुल शर्मा राघव भट्नागरको ठाउँमा चिफ बनेर यो महिनाको अन्तिममा नेपाल आउने बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू