नमाने एक महिना जेल जान्छन् मेयर कमरेड

नमाने एक महिना जेल जान्छन् मेयर कमरेड

मै हुँ भन्ने जनप्रतिनिधिहरूलाई भ्रष्टाचारले होइन अदालतको अपहेलनामा अदालतले कस्न थालेको छ । एमालेबाट काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी र वडाध्यक्ष सुमन तामाङ, नवराज भट्टराई र वडा सदस्य चन्द्रमान श्रेष्ठविरुद्ध अदालतले मानहानीमा एक महिना कैद सजायँ सुनाएको हो । अदालतले चलन चलाइदिनु भन्ने जग्गा नगरपालिकाले कब्जामा राखेकाले आफ्नो मानहानी भएको भन्दै न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले सो आदेश दिएको हो । 

एक महिना कैद सजायँ सुनाइएका मेयर अधिकारी एमालेको महानगर कमिटीका अध्यक्ष हुन् । यसका साथै काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य हुन् । स्थानीय चन्द्रबहादुर थापाको फिराद जाहेरीका आधारमा मेयर अधिकारीसहित सबैलाई शर्तसहितको कैद आदेश भएको हो । शर्तमा अदालतको आदेशबमोजिम ‘६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ उल्लेख गरिएको छ । सो अवधिमा पनि आदेश पालना नभएमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च असुल गर्ने आदेशसमेत जेठ ११ गते भएको थियो । 

काठमाडौं उपत्यकाभित्र महानगरपालिकासहित ११ वटा पालिका छन् । यीमध्ये टोखा र बूढानीलकण्ठ नगरपालिकामा एमालेले विजय हासिल गरेको थियो । आउँदो केही दिनभित्र एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचन हुने भएको छ । अध्यक्षको प्रतिस्पर्धामा दीपक निरौला र निर्मलकुमार देउला छन् । करिब सात सय प्रतिनिधिले भाग लिने अधिवेशनमा २५ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि हुने व्यवस्था गरिएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू