प्रहरी र सरकारी वकिलले रविको निम्ति लुकाएको प्रमाण

प्रहरी र सरकारी वकिलले रविको निम्ति लुकाएको प्रमाण

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कृष्णप्रसाद जैसीसमेतद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रस्तुत  ठगीसम्बन्धी कसुरको जाहेरी सक्कल पठाउन आदेश दिएलगत्तै  सार्वजनिक निवेदनमा मन्त्रीको नाम पहिलो नम्बरमै देखिएको छ ।

दर्ता नम्बर ०८०–८१–०४२६÷१२९ मिति २०८०।१०।२२। मा कसुर गर्ने व्यक्ति काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने लालचन्द्र लामिछानेको छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७) भन्ने उल्लेख छ । तर विवादमा ल्याइएको महान्यायाधिवक्ता कार्यालयको च.नं. ३२७५ को पत्र (मिति २०८१।०१।२४) मा निज रवि लामिछानेउपर कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयलाई लिएर कुनै उजुरी/जाहेरी परेको नदेखिएको व्यहोरा उल्लेख भएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्की प्रहरी कार्यालयबाट सोसम्बन्धी सबै कागजातको सक्कल माग गरिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषय र रिट निवेदकका तर्फबाट संलग्न गरिएको जाहेरी दरखास्तको सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८१।०१।२४ मा लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको द.नं.०८०–८१–०४२६/१२९ मिति २०८०।१०।२२ को जाहेरी ब्यहोराको थप परीक्षण गरी प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिंदा प्रस्तुत विषयको सुनुवाईलाई अग्राधिकार दिई मिति २०८१।०२।२८ गतेका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च.नं ३२७५ मिति २०८१।१।२४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगीसम्बन्धी कसुरको द.नं.०८०– ८१–०४२६/१२९ मिति २०८०।१०।२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो व्यहोराको सूचना विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्नु ।’

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुध्द कहींकतै उजुर नपरेको महान्यायाधिवक्ता कार्यालयको पत्र पेश गरिरहेको बेला सर्वोच्चले उनको दाबी खण्डन हुने तथ्य स्वीकार्दै सोको प्रमाणित विवरणसहित जेठ २८ गते अन्तरिम आदेशका लागि हुने छलफलमा आउन दुबै पक्षका नाममा आदेश दिएको थियोे ।

सूर्यदर्शन सहकारीका पीडित २५ जनाले दर्ता गरेको संयुक्त निवेदनको कसूर गर्ने व्यक्तिको पहिलो नम्बरमा रवि लामिछानेको नाम उल्लेख छ । उनलाई गोर्खा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक तथा सहकारीको खातावाल भनिएको छ । त्यस्तै सहकारीको सञ्चालक समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जनलाई २ नम्बरमा, ३ नम्बरमा नेत्रपाणि बास्तोला र चौथो नम्बरमा दिपेशकुमार पुनको नाम सहकारी ठगको रुपमा उल्लेख गरिएको छ । पाँचौ नम्बरमा गोर्खा मिडिया प्रा.लि. काठमाडौंलाई पनि कसूर गर्ने संस्थाको सूचीमा राखिएको पाइएको छ ।

उक्त सहकारीबाट आफ्नो ग्लोबल आइएमई बैंकस्थित खातामा एक करोड ८० लाख रुपैयाँ आएको तर आफूले नबुझेको दाबीसहित रविले पत्रकार सम्मेलनमार्फत विषयान्तर गरेका थिए । न्यायाधीश श्रेष्ठको इजलासमा निवेदक अनुपम भट्टराईसमेतका अधिवक्ताहरुले रविविरुद्ध किटानी जाहेरी परेको प्रमाण पेश गरेका थिए ।

टिप्पणीहरू