गिरीबन्धु प्रकरणमा गृहमन्त्रीको मुख नखुल्ने कांग्रेसको ठहर
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष जोडिएको झापाको गिरीबन्धु टी स्टेटको जग्गाबारे गृहमन्त्री रवि लामिछाने चुइङ्क बोल्न नसक्ने दाबी गरेको छ ।
आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले त्यस्तो ठोकुवा गरेका हुन् । सर्वोच्च अदालतले गिरीबन्धुको जग्गामा नीतिगत भ्रष्टाचार भएको निष्कर्ष दिए पनि गृहमन्त्री लामिछाने यसबारे बोल्न नसक्ने उनको भनाई छ ।
काँग्रेस सरकारमा भएका बेला उक्त जग्गा कमिशन खाएर बेचेको एमाले अध्यक्ष ओलीले आरोप लगाएको उल्लेख गर्दै महामन्त्री शर्माले गृहमन्त्रीले फाइल खोल्न चुनौतीसमेत दिए । 'के तपाई गिरीबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?', उनले गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।
‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहान्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरीबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न', शर्माले भने ।
बोल्न सक्ने भए ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणीका सम्बन्धमा लामिछानेले चुपचाप नबस्ने शर्माको बुझाई छ । उनी भन्छन्, 'बोल्न सक्नुभएको भए शिक्षामन्त्री उपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।'
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग नभिडन पनि ओलीलाई सुझाव दिए । न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयरले ठिक काम गरेको उनले बताए ।
‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि ! त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर, आफैँ सुरिनु भयो बोल्न', महामन्त्री शर्माले भने ।
टिप्पणीहरू