व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै सोही अनुरुपको कर्ममा समर्पित हुन आग्रह गर्नुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गर्नुभएको छ ।

‘राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपिल गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।’ 

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पार्नुभयो । 

नेपाली अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवद्र्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो । 

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने हुन्छ भन्नुभयो । उहाँले विकसित देशका  उदाहरण र अनुभवबाट सिकेर मुलुकको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास राख्नुभएको छ ।

प्रधानमन्त्री दाहाल आजै बिहान काठमाडौंबाट भरतपुर जानुभएको हो । बुद्ध एअरको उडान नम्बर बिएचए ३७१ मा नौ सदस्यीय टोलीका साथ उता जानुभएको प्रधानमन्त्री दिउँसो साढे २ बजेको उडानमा राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू