धार्मिकस्थलमा लुगा सुकाउने ठाउँ

धार्मिकस्थलमा लुगा सुकाउने ठाउँ

काठमाडौं मुलुककै व्यस्त शहरमध्ये एक हो । यो एकातिर देशको राजधानी हो भने अर्कोतिर देशभरका नागरिकको बसोबासस्थल । ७७ जिल्लाकै बासिन्दा यहाँ बसोबास गर्छन् । 

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि काठमाडौंमै अवस्थित छ । नेपाल आएका पर्यटकले सर्वप्रथम घुम्ने काठमाडौं नै हो । त्यसमा पनि पशुपतिनाथ मन्दिर । विश्व सम्पदा सूचीको पशुपतिनाथ दर्शन गर्नु स्वदेशी–विदेशीको चाहना हो ।

विडम्बना, मन्दिर आसपासको एरिया बिजोग अवस्थामा छ । सो दृश्यका कारण विश्वमै नेपालको नाम ‘माटोमा मिलिरहेको’ छ । मन्दिर बाहिरको दृश्य एकदमै लाजमर्दो छ । तर, त्यसतर्फ सरोकारवाला निकायको ध्यान केन्द्रित हुन सकेको छैन । मन्दिरको बार, फुटपाथ लुगा सुकाउनमा प्रयोग भइरहेको छ । जतिबेला पनि कुर्ता, धोती, पेटिकोट, चोलो, सुरुवालजस्ता कपडा सुकाइरहेको देखिन्छ । यतिसम्मकि भित्री वस्त्रसमेत त्यहीं सुकाइएको हुन्छ । 

सो दृश्यले मन्दिर दर्शन गर्न आउने नेपालीलाई त अप्ठेरो लाग्छ भने विदेशीको हालत के होला ? नेपालबारे उनीहरूले के सोच्लान् ? सरोकारवालाले एकपटक गम्भीर हुनैपर्ने अवस्था छ । त्यसरी लुगा सुकाउन थालिएको लामो समय भइसकेको छ । यद्यपि, सरोकारवालाको आँखा त्यता परेको छैन । पशुपतिनाथप्रति आस्था राखेर दर्शन गर्न आउने अधिकांश भारतीय दर्शनार्थीले लुगा धोएर सुकाउने गरिएको बताइन्छ । 

गौशाला एरियामा बसोबास गर्नेहरूले पनि लुगा धोएर त्यहीं सुकाउँछन् । त्यसरी फुटपाथ र मन्दिरको बारमा लुगा सुकाउँदा पैदलयात्रीलाई समस्या हुने गरेको छ । कहिलेकाहीँ लुगा उडेर अनुहार छोपिने पैदलयात्रीको गुनासो छ । सो एरियामा पसल सञ्चालन गरिरहेकाहरूले पनि सडक छेउ लुगा सुकाएकोमा गुनासो गरेका छन्् । हाल उक्त विषयले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘पशुपति गौशालामा भएको प्रहरी चौकीले एक्सन लिनुप¥यो ।’ त्यस्तै, अर्कोले भनेका छन्, ‘महानगरपालिका कहाँ गयो ? कुनै पनि देशमा यसरी रोडमा लुगा सुकाउन दिँदैन । सुकाए दण्ड तिराउँछ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू