प्रधानमन्त्रीलाई पद त्याग्न काँग्रेसको सुझाव

सुन्नुहोस्

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा फर्किने तयारीमा रहेको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । 

काँग्रेस–एमाले नयाँ समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुरुप संसदको सामना गरेर अघि बढ्ने अडान लिएपछि काँग्रेसले राजीनामा दिन सुझाएको हो । नयाँ सत्ता समीकरण बनाउने एमालेसँगको सहमति अनुमोदन गर्न आज बिहान बसेको कांग्रेस  केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।  

‘दुई वटा ठूला दल नेपाली काँग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नुपर्छ', उनले भने, 'त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ ।'

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले एमालेसँग गरेको समझदारी अनुमोदन पनि गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

'संविधान संशोधनको विषयमा सबै दलसँग सघन छलफल गरेर हामीअघि बढछौं । नेकपा एमाले र नेपाली काँग्रेसबीच आगामी सहकार्य गरेर जानेबारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गयो । र समर्थन गर्यो', बैठकको निर्णय सुनाउँदै उनले भने ।

टिप्पणीहरू