पर्यटक बढेपछि स्विट्जरल्याण्डलाई आपत्

पर्यटक बढेपछि स्विट्जरल्याण्डलाई आपत्
सुन्नुहोस्

कुनै पनि मुलुकको आर्थिक विकासको एउटा प्रमुख माध्यम पयर्टन हो । पर्यटन क्षेत्रको विकासबाट धेरै मुलुकले आर्थिक समृद्धि र विकासमा छलाङ मारेका छन् । धेरै पर्यटक भित्र्याउन विश्वका अधिकांश मुलुकले नयाँ–नयाँ योजना ल्याइरहेका छन् । विदेशी मुद्रा आर्जनको गतिलो स्रोत नै पर्यटन भएकाले पर्यटन उद्योगको विकासमा जोड दिइएको छ । 

विश्वका अधिकांश मुलुक धेरै पर्यटक भित्र्याउन लागिपर्दा स्विट्जरल्याण्डले कटौती गर्न खोजेको छ । पर्यटक अत्यधिक बढेपछि स्विट्जरल्याण्ड घटाउनेतर्फ उन्मुख भएको हो । त्यहाँको सरकारी पर्यटन एजेन्सीले उच्च पर्यटनको जोखिमलाई तत्काल नियन्त्रण गर्नुपर्ने चेतावनी दिएको छ । 

सरकारी अधिकारीहरुले बढ्दो पर्यटक संख्यालाई कम गर्न घुम्ने अवधि र स्थानबारे निश्चित समय तोक्नुपर्ने बताएका छन् । वर्षैभरी छुट्टी मनाउन आउनेको बढ्दो प्रवाहलाई रोक्नुपर्ने उनीहरुको सुझाव छ । त्यस्तै, पर्यटकका लागि अफ सिजन र कम प्रख्यात गन्तव्य प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

 

सो क्रममा एजेन्सी प्रमुख मार्टिन नाइडेगरले अत्यधिक पर्यटकको जोखिमबाट मुलुकलाई बचाउने प्रयत्न भइरहेको बताए । ‘स्विट्जरल्याण्डले अत्यधिक पर्यटनको जोखिमबाट जोगाउने प्रयास गरिरहेको छ । यहाँ सामान्य पर्यटनको कुनै समस्या छैन तर अस्थायी र स्थानीय बाधा उत्पन्न भएका छन्’,उनले भने । 

त्यस्तै, उनले सीमित पर्यटक भित्र्याउन थप शुल्क लगाउनुपर्ने धारणा राखे । मुलुकभित्रका स्थान घुम्न शुल्क तोकिनुपर्ने उनको सुझाव छ । गतवर्ष मध्य स्विट्जरल्याण्डको इसल्टवाल्डमा बनाइएको दक्षिण कोरियाली श्रृङ्खला ‘क्रयास ल्याण्डिङ्ग अन यु’ को सफलतापछि उक्त स्थान पुग्न चाहने एसियाली पर्यटकको संख्या बढेको छ ।

 

त्यसपछि स्विट्जरल्याण्डले सो स्थान घुम्न साढे पाँच स्वीस फ्रयाङ शुल्क लगाउने निर्णय गरेको छ । अन्य स्थानमा पनि त्यसैगरी शुल्क लगाएमा अति पर्यटकको जोखिम न्यून गर्न सकिने त्यहाँका पर्यटन व्यवसायीहरुको भनाई छ ।

टिप्पणीहरू