माओवादी आतंक भन्दा लेखराजलाई पीडा

माओवादी आतंक भन्दा लेखराजलाई पीडा

जनयुद्धका कमाण्डरकै अगाडि माओवादी आतंकभन्दा पीडा हुनु स्वाभाविकै हो । त्यस्तै पीडा अहिले एमाले सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टलाई भएको छ । 

यसै कारण लेखराजले पोलिटब्युरो सदस्य तथा कैलाली इञ्चार्ज गणेश ठगुन्नालाई कारबाही हुनुपर्छ भन्ने दवाव सिर्जना गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतका अनुसार लेखराजले जनयुद्धको अपमान गर्ने ठगुन्नालाई कारबाही हुनुपर्छ भन्दै अध्यक्ष र महासचिव शंकर पोखरेलसित भेटघाट गर्ने गरेका छन् । अघिल्लो महिना कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकामा भएका गाउँ अधिवेशनमा पूर्व संघीय मन्त्रीसमेत रहेका ठगुन्नाले माओवादी आतंकका बेला पार्टी जोगाउनुभयो, माओवादीको चर्को दबाबमा पनि २०७४ र २०७९ को स्थानीय चुनाव जित्नुभयो भनेर कार्यकर्तालाई स्यावासी दिएपछि लेखराज रिसाएको बताइन्छ । सो कार्यक्रममा भट्ट प्रमुख अतिथि थिए ।

कैलालीकै मोहन्याल गाउँपालिकाको अधिवेशनमा पनि केही कार्यकर्ताले एमालेमा लेखराजको भूमिका के छ ? उनकै निर्देशनमा युद्धकालमा हामीलाई झण्डै मारेको थियो भनेपछि पनि लेखराज क्रुद्ध बन्न पुगे । यद्यपि, सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन हुँदा लेखराजले एमाले रोजेका थिए । एमाले रोज्दा उनको प्रतिनिधि सभा सदस्य पद गएको थियो । त्यसयता उनी शुरुमा सुदूरपश्चिम र पछि कर्णाली इञ्चार्जको भूमिकामा छन् । दशौ महाधिवेशनअघि स्थायी समिति सदस्य र महाधिवेशनपछि केन्द्रीय सचिव छन् । 

लेखराजविरुद्ध आवाज उठ्न थालेपछि आफूसँगै एमाले फर्किएका पूर्वमाओवादीलाई प्रतिवाद गर्न निर्देशन दिएको बताइन्छ । एमाले नेता भने एमालेले माओवादी जनयुद्धलाई जनयुद्ध भनेर स्वीकार नगरेकाले तत्कालिन अवस्थालाई माओवादी आतंक भन्दा लेखराजले चित्त दुखाउन नहुने बताउने गर्छन् । 

सुदूरपश्चिमको मन्त्री को हुने 

असार २८ गतेपछि बन्ने सरकारमा सुदूरपश्चिमबाट को मन्त्री हुने भन्ने चर्चा शुरु भएको छ । बैतडीका दामोदर भट्ट लगातार तीन पटक प्रतिनिधि सभा सदस्य जितेर चौथो पटक मन्त्री हुन पहल गरिरहेका छन् । उनी अध्यक्ष ओली पनि पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थराज्यमन्त्री थिए । पछिल्ला दुईपटक प्रचण्ड सरकारमा उद्योगमन्त्री बने । तर दुई पटक नै धेरै समय मन्त्री हुन पाएनन् । दामोदरलाई बनाउनुपर्छ र बनाउनुहुन्न भन्नेको ताँती अध्यक्ष ओली र महासचिव पोखरेल कहाँ पुगेको छ । दामोदर मन्त्री बन्नुहुन्न भन्नेमा केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा आ–आफ्नै तरिकाले लागेका छन् ।

यद्यपि, लेखराज र कर्णले मन्त्रीका आकांक्षी तारा लामा तामाङ र दयालबहादुर शाहीलाई खुलारुपमा बोक्न सक्ने अवस्था छैन । तारा गुटको राजनीति नगर्ने र दयाल सिधै अध्यक्ष ओलीसंग नजिक भएकोले लेखराज र कर्णले उनीहरुलाई खुलारुपमा बोक्न नसक्ने अवस्था छ । सुदूरपश्चिमबाट एमालेतर्फका भण्डारी, लामा र शाही मात्र प्रतिनीधि सभामा छन् ।

कांग्रेसबाट भने कञ्चनपुरका रमेश लेखक गृहमन्त्री र बाजुराका बद्री पाण्डे मन्त्री हुने चर्चा छ । बद्रीलाई शेखर कोइरालाले मन्त्री बनाउन सभापति शेरबहादुर देउवालाई दवाव दिएको बताइन्छ । कांग्रेसका प्रभावशाली नेता एनपी साउद भने सकेसम्म लेखक र पाण्डेलाई रोक्ने दाउमा छन् ।

 

टिप्पणीहरू