माओवादी मुख्यमन्त्री हट्ने पक्का, लुम्बिनी एमालेभित्र गुटबन्दी बढ्ता

माओवादी मुख्यमन्त्री हट्ने पक्का, लुम्बिनी एमालेभित्र गुटबन्दी बढ्ता
सुन्नुहोस्

स्पष्ट अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा आज मुख्यमन्त्रीबाट हट्ने निश्चित छ । दिउँसो १ बजेको प्रदेश सभा बैठकमा सम्भवतः उनले राजीनामा दिन सक्छन्  ।

एमाले र काँग्रेस मिलेर महराले विश्वासको मत नपाउने निश्चित भएपछि उनीसँग राजीनामा वा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदानको विकल्प बाँकी छ । उनको बर्हिगमनपछि एमाले र काँग्रेसमध्ये एकको सरकार बन्ने छ । पछिल्लो सहमतिअनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भागबण्डा भएको बताइन्छ । 

एमाले लुम्बिनीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीचको तानातानका कारण सम्भावित मुख्यमन्त्रीबारे केही निर्णय भएको छैन । पौडेल समूहले लिला गिरी र पोखरेल समूहले चेतनारायण आचार्यलाई अघि सारेका छन् । 

लिला गिरी पार्टी नेतृत्वसँग भेटघाट गर्न काठमाडौं आए पनि बालकोटबाट सकारात्मक रेस्पोन्स पाएनन् ।

प्रदेश सभामा एमाले संसदीय दलको नेता गिरी हुन् । तर आचार्य स्वयम् आफूलाई मुख्यमन्त्रीमा दाबी गर्दै हिजो अबेरसम्म काठमाडौंमा लबिंग गर्दै थिए । उनी आज बिहान भैरहवा हुँदै दाङ जाने तयारीमा रहेको बताइन्छ ।
 

एमाले स्रोतका अनुसार गत साता लिला गिरी पार्टी नेतृत्वसँग भेटघाट गर्न काठमाडौं आए पनि बालकोटबाट सकारात्मक रेस्पोन्स पाएनन् । उनको पक्षमा रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेल संघीय सत्ताको मुख्य जिम्मेवारीमा रहेकाले यतिखेर खुलेर अगाडि आउने अवस्था देखिँदैन । 

यसबीच आचार्यको पक्षमा माहौल बनाउन केन्द्रीय नेतृत्वले मन्त्री बलराम अधिकारीहरुमार्फत् सांसदहरुलाई लबिंग गरेको गिरी पक्षको आरोप छ । यसमा अधिकारी र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे दिनहुँ बालुवाटार, बालकोट र च्यासल पुग्ने गरेका छन् ।

टिप्पणीहरू