संसदको आगामी अधिवेशन सिंहदरबारभित्रै बोलाउने सरकारको तयारी, भवन निर्माणमा ठेकेदारको लापरवाही
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउनुभएको छ । सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आज अनुगमनमा पुगेपछि उहाँले ठेकेदार कम्पनीसँग असन्तुष्टि पोख्नुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले सबै सम्भावनालाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र भवन निर्माण कार्य सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिनुभएको छ । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँही रहेकाले कुनै हालतमा उक्त अवधिभित्र काम सक्न ठेकेदार कम्पनीलाई सचेत गराइएको छ ।
दैनिक तीन सिफ्टमा काम गर्न निर्माण कम्पनीलाई घच्घच्याइएको उपप्रधानमन्त्री सिंहले अनुगमनका क्रममा जानकारी गराउनुभयो । ‘यो भवन अलि चाँडो निर्माण गर्नुपर्यो भन्ने कुरामा हाम्रो सल्लाह भएअनुसार नै साईट भिजिट गरेर कन्ट्रयाक्टरलाई पनि बोलाउने, उसको अवस्था के छ ? त्यो पनि बुझ्ने र, यो कन्ट्रयाक्ट हुँदाखेरी भएको सम्झौताअनुसार काम गर्नका लागि के गर्न सकिन्छ, स्पिड कसरी बढाउन सकिन्छ ? सबै सम्भावनालाई प्रयोग गरेर यसलाई पूरा गर्नेतर्फ हामीले जोड दिइरहेका छौं’, उहाँले भन्नुभयो ।
संसद्को आगामी अधिवेशन नयाँ भवनमा सञ्चालन सरकारको तयारी छ । ‘नौ महिनामा बाँकी सबै कामहरु सकाउन सिफ्टहरु त बढाउनुपर्यो । हिउँदे अधिवेशन यहिँ गर्न पाए राम्रो हुन्छ भन्ने कुरा हो,’ उहाँले बताउनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भैरहेको भवनको काम छिटो सम्पन्न गर्न कामदार संख्या दोब्बर बनाउन निर्माण कम्पनीलाई दबाब दिइएको छ । तर, ठेकेदार कम्पनीले सोअनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालको भनाई छ ।
आगामी नौ महिनाभित्र चैत्र १८ गतेसम्म भवन निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । ६ अर्ब ३० करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्न २०७६ असोज १६ गते शुरु भएको भवन निर्माणको काम कोभिड महामारीका कारण पछाडि धकेलिएको मन्त्रालयले जनाएको छ ।
यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि निर्माण कार्य छिटो सक्न र त्यसमा सहजीकरणका लागि सरकारलाई सचेत गराउनुभएको थियो ।
टिप्पणीहरू