बिजुलीको वक्यौताबारे बोल्दा माननीयको माइक काटिएपछि संसद अवरोध
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुखले बोल्दा बोल्दै रोकेपछि संसदमा केहीबेर अवरोध भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा त्यस्तो भएको हो । सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय पाएको तर, अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले माइक काटिदिएका थिए । शुरुमा उनले सडक यातायातकै कुरा राखेका थिए । त्यसपछि ढकालले बिजुलीको वक्यौता उठाउने विषयमा आफ्ना कुरा राख्न थाले ।
विद्युतको महसुल उठाउनेबारे ढकाल बोल्दै गर्दा उनको माइक काटिएपछि आक्रोशित हुँदै रास्वपासहित माओवादी केन्द्र र राप्रपाका सांसदहरु उठेर विरोध जनाए । सांसदहरुको अवरोध जारी रहेपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । तर, उनले सांसद ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै चर्को विरोध प्रकट गरे र उनैलाई बोल्न दिनुपर्ने माग राखे ।
निरन्तरको अवरोधपछि सभामुख घिमिरेले पुनः ढकाललाई बोल्न समय दिए । समय पाएपछि उनले भ्रष्टाचारसम्बन्धी विषय संसद्मा उठाउँदा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको आक्रोश पोखे । आक्रोशित हुँदै उनले बिजुलीको लाइन जोड्नजस्तै महसुल उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताए ।
टिप्पणीहरू