अध्यक्षका लागि 'एमाले कलाकार'को आवेदन
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जनले आवेदन दिएका छन् । अन्तिम दिन हिजोसम्म ६ जनाले आवेदन दिएको बोर्डले जनाएको छ ।
बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाका अनुसार अभिनेत्री करिश्मा मानन्धर, चलचित्र निर्देशक दिनेश डिसी,दिपा पाण्डे बस्नेत,संस्कृतिकर्मी राजेशकुमार थापा,निर्माता अर्जुनकुमार डंगोल र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका छन् ।
अध्यक्षमा आवेदन हाल्ने अधिकांश सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) सम्वद्ध कलाकार हुन् । अभिनेत्री करिश्मा एमालेको साहित्य,कला तथा सांस्कृतिक विभागकी सदस्य हुन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट राजनीतिमा होमिएकी उनी केही वर्षअघि तामझामका साथ एमालेमा छिरेकी थिइन् । एमाले प्रवेश गरेपछि नामै फेरेर 'सूर्यकुमारी' राखेकी करिश्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको प्रशंसक पनि हुन् ।
दिनेश डिसी पनि जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसँगै एमाले सम्वद्ध जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य छन् । उनी अध्यक्ष ओलीसँग घनिष्ट सम्बन्ध राख्ने थोरै कलाकारमध्ये एक मानिन्छन् । बोर्ड अध्यक्षमा आवेदन हालेका राजेशकुमार पनि जनसांस्कृतिक महासंघमा आवद्ध छन् ।
फिल्म निर्माता अर्जुनकुमार यसअघि एमालेको कोटाबाट विकास बोर्डमा सदस्य रहिसकेका व्यक्ति हुन् ।
आवेदन हाल्ने म्याद सकिएसंगै अब कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता दिने तालिका सार्वजनिक गरिने छ । ‘६ जनाको आवेदन परेको छ । अब उहाँहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता दिने तालिका सार्वजनिक गरिनेछ’, उपसचिव थापाले भने ।
अध्यक्ष भुवन केसी दुई वर्षे कार्यकाल सकाएर गत साउन १० गते बोर्डबाट बिदा भैसकेका छन् । मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै नयाँ अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो ।
टिप्पणीहरू