दुर्गा प्रसाई र गोविन्द्र केसीबीचको लफडा फेरि बल्झियो

दुर्गा प्रसाई र गोविन्द्र केसीबीचको लफडा फेरि बल्झियो

व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । 

बिएण्डसीलाई सम्बन्धन दिने अदालतको फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा. गोविन्द केसी आज रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । यद्यपि, रिट दर्ता भने गरिएको छैन । 

डा. केसीको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि तय हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘निवेदन आएको छ, तर दर्ता गरेका छैनौँ', उनले जनआस्थासँग भने, 'निवेदनमाथि केही अध्ययन गनुपर्ने देखिएकाले दर्ता गर्ने कि नगर्ने भोलि थाहा हुन्छ ।’

प्रसाईले ०७७ असारमा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्ध मुद्धा हालेका थिए । उक्त मुद्दामा गत चैत १२ गते सर्वोच्चले प्रसाईकै पक्षमा फैसला सुनाउँदै आवश्यक प्रक्रिया पूरा गरी कलेजलाई सम्बन्धन दिन आदेश थियो ।

डा. केसीले भने जनताको स्वास्थ्य र गुणस्तरीय शिक्षासम्बन्धी मौलिक हकसँग चिकित्सा शिक्षा पनि गाँसिएको कुरालाई सर्वोच्चले ख्याल नगरी फैसला गरेको दाबी गरेका छन् । 

‘व्यापार व्यवसाय गर्ने स्वतन्त्रता निरपेक्ष हो जस्तो गरी इजलासले प्रस्तुत गरेको छ । यो त्यस्तो निरपेक्ष स्वतन्त्रता होइन । धारा १७ अन्तर्गत प्रत्याभूत नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता जहिले पनि मनासिब प्रतिबन्धको अधीनस्थ रहेर उपभोग गर्न पाइने स्वतन्त्रता हो । सो कुरा सोही धाराको देहाय (६) मा उल्लिखित मनासिब प्रतिबन्धका आधारहरूको सामान्य पाठबाट पनि स्पष्ट हुन्छ’, रिटमा भनिएको छ ।

 

टिप्पणीहरू