ओरालो लागेपछि...

ओरालो लागेपछि...
सुन्नुहोस्

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई केपी ओलीले प्रधानमन्त्रीबाट हटाउनुभयो । अब जनार्दन शर्माले अध्यक्ष पदबाट पनि हटाउलान् जस्तो छ । हटाउने कुरा त आइसक्यो । ओरालो लागेको मृगलाई मुुसाले पनि लखेट्छ भनेको यही हो ।

जब प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्थ्यो, उहाँलाई अध्यक्ष छोड भन्ने हिम्मत कसैसँग थिएन । अहिले प्रधानमन्त्रीबाट झरेको दुर्ई महिना भा’ छैन, अध्यक्ष छोड भन्न थालिसके । वास्तवमा प्रचण्डले हरेक पटक जसरी भए पनि प्रधानमन्त्री बन्न खोज्नुको कारण त यो हो नि ! प्रधानमन्त्री नहुँदा त आफ्नै पार्टीभित्र पनि हेप्ने रहेछन् । हेर्नोस्, कति हेपेका ! प्रधानमन्त्री हुञ्जेल उहाँ नै अध्यक्षमा ठीक । जब प्रधानमन्त्री खुस्क्यो, अध्यक्ष पनि बेठीक । पार्टीमा आफ्नो कार्यकर्तालाई तर्साउन पनि प्रधानमन्त्री नबनी नहुने रहेछ । 

त्यसो त पार्टीमा कसैले उहाँको राजीनामा माग्दैमा त्यो आइहाल्ने चिजचाहिँ होइन । त्यो सबैलाई थाहा भएकै कुरा हो । कसले पो मागेको थिएन र राजीनामा ? मोहन वैद्यले मागेनन् कि ? बाबुरामले मागेनन् कि ? माग्नेहरू अहिले कहाँ कहाँ पुगिसके, उहाँ त्यहींको त्यहीं नै हुनुहुन्छ । अहिले पनि कुरा त्यही हो । यसरी राजीनामा माग्नेहरू भोलि कहाँ कहाँ पुग्ने हुन् थाहा छैन, उहाँ भने यहींको यहीं नै हुनुहुनेछ ।

बरु हेर्न यति मात्रै बाँकी छ कि यसपालि उहाँले केचाहिँ भनेर राजीनामा नदिने हो । राजीनामा आउँदैन दिँदैन सबैलाई थाहा छ । यसको लागि बहाना के हुन्छ, त्यो भने अहिलेसम्म कसैलाई थाहा छैन । पछि थाहा हुन्छ । नाटक देखाउँदा अलि कला पनि चाहियो नि ! नभए त कलाविहीन नाटक हुन्छ । कि कसो ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू