सम्पत्तिमा सुमन, राजश्वमा चण्डी

सम्पत्तिमा सुमन, राजश्वमा चण्डी

निकै खिचातानीबीच प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफू मातहतका दुई शक्तिशाली निकाय राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक टुंगो लगाउनुभएको छ । 

सहसचिवद्वय सुमन दाहाल र चण्डी घिमिरे क्रमश: सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको डिजी बनेका हुन् । प्रधानमन्त्रीको निजि सचिवालयले एक हप्ताको कसरतपछि प्रधानमन्त्री ओलीको निर्देशनबमोजिम यी दुई नाममा सहमति जुटाएकोजानकारी प्राप्त भएको छ ।    

कर्मचारी प्रशासनमा क्षमतावान कहलिएका सहसचिवद्वय सुमन र चण्डीबीच राजश्व अनुसन्धानमा जान प्रतिष्पर्धा थियो । तर, अर्थमन्त्रीलगायत एमालेका केही नेताहरुको चाहनाले अन्तत: घिमिरे बाजी मार्न सफल भए । 

गत बिहीबारको क्याविनेट बैठकले ५९ जना सहसचिव सरुवा गर्दा यी दुई अर्थ मन्त्रालयअन्तर्गतका निकायमा जान इच्छुक थिए । तर, उनीहरुलाई प्रधानमन्त्री कार्यालय ल्याइयो । 

आन्तरिक राजश्व विभाग आस गरेका सुमनलाई प्रधानमन्त्री कार्यालयमा ल्याउँदा त्यसबेला उनले रोजेकै ठाउँ पाउने लख काटिएको थियो । तर, राजनीतिक जोडकोण उनको पक्षमा नरहेपछि सामान्य प्रशासन मन्त्रालयबाट तानिएका उनी सम्पत्ति शुद्धीकरणमा थान्को लगाइएका हुन् । 

उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय पुगेका चण्डीको भने समान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा जाने चाहना थियो । यद्यपि बाहिर भने सम्पत्ति शुद्धीकरणको प्रमुख बनाउनेगरी प्रधानमन्त्री कार्यालय ल्याइएको अनुमान गरिएको थियो । तर, हप्ता दिनको गृहकार्यले उनलाई राजश्वको जिम्मा मिल्यो । 

प्रधानमन्त्रीको पार्टी एमाले निकट उनले राजश्व अनुसन्धान हाँक्ने हकदारी खोजेको भनिन्थ्यो । चण्डी एमालेका कर्मचारीलाई एकतृत गर्न सक्ने क्षमताका व्यक्तिसमेत मानिन्छन् । उनको उक्त क्षमताले समेत टेवा पुर्याएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिव दिनेश घिमिरेलगायत एमाले निकट कर्मचारीसमेत चण्डीको पक्षमा उभिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई यसको टुंगो लगाउन निर्देशन दिएअनुसार निर्णय भएको बताइएको छ । प्रधानमन्त्रीको आफ्नै रोजाई भने गृहजिल्ला झापाका सुमनलाई राजश्वमा लैजाने थियो भनिन्छ । 

१० महिना कार्यकाल बाँकी रहेका चण्डीले आफूपछि सुमनलाई राजश्वमा लैजान सघाउने अहिले सम्पत्तिमा गैदिन आग्रह गरेको बुझिन्छ । आगामी अक्टोबरमा यूएईमा हुने सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुनुपूर्व विभागले गर्नुपर्ने धरै काम रहेको र त्यसमा सुमनले क्षमता देखाउनुपर्ने भएको छ ।   

यता, प्रम कार्यालयका सहसचिव विनोद लामिछानेलाई राजश्व अनुसन्धान विभागको उपमहानिर्देशन बनाउने तयारी रहेको जनआश्थालाई सूचना मिलेको छ ।

नवनियुक्त हुन लागेका महानिर्देशकद्वय घिमिरे र दाहालले आजै दिउँसो सम्बन्धित विभागमा जिम्मेवारी पाएको चिठी प्रधानमन्त्री कार्यालयबाट पाउने भएका छन् । सम्भवत आइतबार दुबै जनाले आआफ्नो निकायमा पद बहाली गर्ने छन् ।

टिप्पणीहरू