मुकुलको दाबी- रवि लामिछाने राष्ट्रिय अपराधी हो, प्रमाणित गर्नसक्छु !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ सहकारी ठग र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।
पार्टीले अस्ति सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले लामिछानेलाई राष्ट्रिय ठगको संज्ञासमेत दिए । ढकालले स्पष्टीकरण पत्रमा लेखेका छन् - 'तपाईं रवि लामिछानेले सहकारी ठगी गर्नुभएको छ। तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ, र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।
आफूमाथि लागेका अभियोग प्रष्ट पार्नुको साटो लामिछानेले दुराशयका साथ आफूमाथि कारवाहीको प्रयास गरेको बताएका छन् । सहकारी ठगी र भ्रष्टाचारको कसुरमा लामिछाने जेल जानसक्ने र राहदानी दुरुपयोगमा कहिल्यै चुनाव लड्न नपाउने कानुनी व्यवस्था स्मरणसमेत गराएका छन् ।
लामिछानेले पार्टीभित्र चलाएको हैकमवादी प्रवृतिले लोकतन्त्र खतरामा परेको दाबि गर्दै उनले त्यसविरुद्ध उभिनु आफ्नो कर्तव्य हुनेसमेत उल्लेख गरे ।
‘पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापक सदस्यको हैसियतले मेरो कर्तव्य हो', ढकालको स्पष्टीकरणमा भनिएको छ, 'आफ्नो वाककलाको आधरमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारवाहीको डण्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ ।'
रास्वपाको अस्ति बुधबार बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नुपूर्व अन्तिम एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीमाथि सभापति लामिछानेविरुद्ध बोल्दै हिँडेको आरोप छ ।
यसअघि महामन्त्रीबाट हटाउँदा पनि रास्वपाले ढकालसँग स्पष्टीकरण मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको र उल्टै सभापतिमाथि अनेक आरोप र लान्छना लगाएको पुन: स्पष्टीकरण मागिएको हो ।
टिप्पणीहरू