भ्रमणको उपलब्धि

भ्रमणको उपलब्धि

– सिंहराज

उताबाट सचिव आउनुभयो । यताबाट मन्त्री जानुभयो । उताको सचिव बराबर यताको मन्त्री हुँदो रहेछ । यो पनि ठीकै हो । यसमा धेरै टाउको नदुखाऊँ । यताको मन्त्रीले उताको प्रधानमन्त्री भेट्न पाउनु नै ठूलो कुरा भयो । होइन भने विदेशमन्त्रीमै चित्त बुझाएर फर्कनुपर्ने अवस्था हुन सक्थ्यो । 

परराष्ट्र मन्त्री आरजु राणाको भारत भ्रमण उपलब्धिमूलक भयो भन्ने खबर आएको छ । किनभने उहाँले नरेन्द्र मोदीलाई पनि भेट्न पाउनुभयो । मोदीलाई भेट्नुभन्दा ठूलो उपलब्धि अरु के हुन सक्छ ? यदि, अरु पनि केही छन् भने त्यसलाई बोनस उपलब्धि मान्दा हुन्छ ।  

फर्किने बेला परराष्ट्रमन्त्रीज्यू उपचार गराएर आउने समाचार छ । तर यो त्यति ठूलो समाचार भने होइन । किनभने भारत जाँदा नेपालका प्रधानमन्त्रीहरू त ‘उपचार’ गराएर आउँछन् भने परराष्ट्र मन्त्री कुन ठूलो मान्छे हो र ? नेपालबाट भारत जो जान्छन्, भारतले उसलाई राम्रै ‘उपचार’ गरेर पठाउँछन् । ‘उपचार’ पद्धतिमा भारतको राम्रै दख्खल छ ।

बरु परराष्ट्र मन्त्री देउवाको सन्दर्भमा चाहिँ उहाँ उपचार गराउन औपचारिक भ्रमणमा जानुभएको हो, वा औपचारिक भ्रमणकै बेला उपचार पनि गराउनतिर लाग्नुभएको हो, त्यो थाहा भएन । तर पनि भारतको सरकारी भवनमा उहाँको जो ‘उपचार’ भयो, त्यसको असर राम्रै देखिन्छ भन्ने हामीलाई लाग्या छ ।  कि कसो नारायणकाजी कमरेड ?          

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू