'हामी सत्ताको खेलमा छैनौँ, कृपया फुर्क्याउन नआइदिनुहोला'
प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेलमा नलाग्ने उद्घोष गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताउनुभएको हो ।
‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु-प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन', प्रचण्डले भन्नुभयो, 'माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन !'
त्यसक्रममा उहाँले सत्ता केन्द्रित हुँदा विगतमा माओवादीका तर्फबाट कमजोरी भएको स्वीकार गर्दै अब सच्चिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । माओवादी कमजोर भएका कारण परिवर्तन उल्ट्याउन सकिन्छ भन्ने षड्यन्त्र नगर्न अध्यक्ष प्रचण्डले सत्तापक्षलाई चेतावनीसमेत दिनुभयो ।
‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईहरु सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो’, उहाँले भन्नुभयो ।
माओवादीको ध्यान अब सत्तामा नहुने र षड्यन्त्रको प्रतिरोधमा रहेको औल्याउँदै प्रचण्डले थप्नुभयो, ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं । पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं । त्यतिबेलासम्म कृपया तपाईहरु मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला ।’
पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाइएको भन्दै प्रचण्डले आक्रोश पोख्नुभयो । ‘मलाई त्यो मेहनत गरिरहेकाहरुलाई सोध्नु थियो- जेलाई अस्थिरता भनिएको हो, के प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो ?', सोध्नुभयो, 'जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता ? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरु ? त्यसमा ठूला दलहरुको हुने होइन र मुख्य भूमिका ?'
कांग्रेस–एमालेका नेताले संसदबाटै माओवादीले पालैपालो धोका दिएको बताउनु गरेको जनाउँदै उहाँले आक्रोश जनाउनुभयो । अगाडि भन्नुभयो, 'ए साथी हो, कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै ?’
माओवादीले पटक-पटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्याएको स्मरण गराउँदै सोध्नुभयो, 'माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै ? कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी ? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री ?’
टिप्पणीहरू