काँग्रेस पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा

काँग्रेस पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा
सुन्नुहोस्

संसदीय प्रणालीलाई आदर्श मान्दै आएको नेपाली काँग्रेसभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी रहने शासकीय व्यवस्थाको पक्षमा आवाज उठ्न थालेको छ । 

सो पार्टीका पुराना नेता तथा सांसद अर्जुननरसिंह केसीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले विद्यमान संसदीय व्यवस्थाले राजनीतिक स्थायित्व नदिएकाले शासकीय स्वरूप फेर्नैपर्ने बताए । 

सांसद केसीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा भने आफू नरहेको स्पष्ट पारे । कार्यकारी राष्ट्रपतीय व्यवस्थाले निरंकुशता ल्याउने उनको तर्क छ । 

‘यदि स्थायित्व दिने, स्थिरता दिने, एकअर्काको गठबन्धनले कुनैपनि भ्रष्टाचार र अनियमिततालाई छुन लाग्यो गठबन्धन उम्किएर सरकार जाला कि भन्ने डरबाट उन्मुक्ति पाउनका लागि निर्वाचित प्रधानमन्त्री सबैभन्दा उपयुक्त हुन्छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ’, उनले भने, ‘राष्ट्रपति किन उपयुक्त हुन्न भन्ठान्छु भने कार्यपालिका र सम्पूर्ण अधिकार एकै ठाउँमा हुँदा राष्ट्रपति सेनाको प्रमुख र अन्तिम अधिकार पनि भएकाले त्यो दुईवटै अधिकार एक ठाउँमा सीमित हुँदा कुनैपनि बेला निरंकुशता आउनसक्छ ।’

शासकीय स्वरूप फेर्ने विषयलाई संविधान संशोधनको एजेण्डा बनाउन केसीले दलहरुलाई आग्रह पनि गरेका छन् । विद्यमान समानुपातिक निर्वाचन प्रणाली हटाएर निर्वाचन क्षेत्रलाई नै समावेशी बनाउन पनि उनले सुझाव दिए । 

सांसद केसीले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुनेमा पनि जोड दिएका छन् ।

 

टिप्पणीहरू