रविमाथि गगनको कटाक्ष- बयान दिएको हो, सफाई पाएको होइन

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता पुष्टि भइसकेको दावी गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले आवश्यक तथ्य र प्रमाणहरु संसदीय समितिमा पुगेकै कारण लामिछाने बयान दिन गएको बताए । केही दिनअघि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै प्रमाण भए देखाउन चुनौती दिएका थिए । 

महामन्त्री थापाले प्रमाण भएकै कारण संसदीय समितिले बयानमा बोलाउनु परेको बताए । लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गरे ।

'हामीले दिएका तथ्यहरु समितिमा पुगेकै कारण नौ मिटेट चट् भनेको ठाउँमा नौ घण्टासम्म बयान दिनुपर्ने अस्ती अवस्था आएको हैन ?,’ थापाले भने, ‘त्यो तथ्य प्रमाण भएकोले आएको हैन ? बरु साथीहरु झुक्किन भयो जस्तो लागेको छ, त्यो केवल बयान हो बयान, फैसला त आउनै बाँकी छ ।’

उनले रास्वपाका सांसदहरुलाई सहकारी प्रकरणसम्बन्धी समितिको फैसला आउने दिन कुरेर बस्न पनि भनेका छन् । 

सांसद थापाले भ्रष्टाचार मुद्धामा हदम्याद राख्ने विषयमा पनि लामिछानेले अनावश्यक उत्तेजना फैलाएको भन्दै आपत्ती जनाए । आफू पनि हदम्याद राख्न हुँदैन भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले त्यहिअनुसारको कानुन बन्ने जिकिरसमेत गरेका छन् । 

‘हदम्याद पूर्णरुपमा खारेज गर्नुपर्छ भन्ने मेरो पनि संशोधन छ । हदम्याद यो विधयेकमा हुँदैन । कानुन बन्दै गर्दा हुँदैन । रहँदैन', उनले भने, 'हदम्याद ५ वर्ष, १० वर्ष, १५ वर्ष भन्ने हैन, हदम्याद भन्ने शब्द नै हुँदैन । यो सबैलाई हेक्का होस् ।’

टिप्पणीहरू