नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई दिनुभएको छ । उहाँले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न, कर्मचारी प्रशासन चुस्त राख्न नयाँ मुख्यसचिव सफल हुने विश्वास राख्दै बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ । सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो ।’ प्रधानमन्त्रीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्ने हिसाबाले सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन सुझाव दिनुभएको छ ।
उहाँले सोध्नुभएको छ, ‘सवारी चालक अनुमतिपत्र, अस्पतालका सेवा, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्छ ? विकास निर्माणका आयोजनाहरुमा किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ ।’
प्रधानमन्त्रीका अनुसार यतिखेर निजामती, शिक्षक, सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धानलगायत निकायमा करिब चार लाख कर्मचारी छन् । सबै कर्मचारी जागिरे मात्र नभएर नागरिकका सेवक भएको उल्लेख गर्दै राष्ट्रसेवाका लागि नयाँ मुख्यसचिव अर्याललाई सफलताको शुभकामना दिनुभएको छ ।
टिप्पणीहरू