प्रचण्ड नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको माओवादी दाबी
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल पुरस्कार दिनुपर्ने बताएका छन् । आजको प्रतिनिधि सभामा बोल्दै क्रान्तिका लागि अथक प्रयास गर्नुभएका प्रचण्ड नोबेल शान्ति पुरस्कारको लागि योग्य भएको बताएका हुन् ।
केही दिनअघि एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको स्मरण गर्दै उनले पूराना आन्दोलनलाई पनि हिंसा भन्ने कि नभन्ने ? भनेर प्रतिप्रश्न समेत गरे ।
उनले भने, ‘२००७ सालमा काँग्रेसले गरेको सशस्त्र क्रान्ति पनि हिंसा थियो र ? झापा विद्रोहको नाममा भुटन चौधरी, धर्म ढकाल, कर्णबहादुर गौतमलगायतको हत्या बिर्सनुभयो कि ? उहाँ (प्रधानमन्त्री) ले १४ वर्ष कैद भुक्तान गरेको के हो ? झापा विद्रोह पनि हिंसा र लुटपाट थिएन र ?’
अन्त्यमा उनले माओवादी अध्यक्ष प्रचण्डलाई जनक मान्नुपर्ने बताउँदै, ‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नुभयो । शान्तिको अथक प्रयास गर्नुभएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’
त्यस्तै माओवादीकी अर्की सांसद दुर्गा राईले प्रधानमन्त्रीले महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँडेको, तर प्रतिनिधिसभाको नियमावली अनुसार महिला समन्वय समिति समेत बनाउन नसकेको आरोप लगाइन् ।
‘नियमावलीमा व्यवस्था गरिएको महिला समन्वय समिति निर्माण गर्न वातावरण बनाउन नसक्ने, तर महिलालाई प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्नु कति जायज हो ?’, उनले भनिन्, ‘कुरा एकथरी, काम अर्कोथरी गर्ने प्रधानमन्त्रीको पहिचान नै बनेको छ ।’
टिप्पणीहरू