पार्टीले भनेअनुसारको काम गर्न सरकारलाई दबाब दिँदै एमाले
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि दबाब दिने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा आजदेखि शुुरु भएको पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको वार्षिक कार्ययोजनामा ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि पहलकदमी लिन अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दबाब दिने उल्लेख छ ।
एमालेले झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावसहितको ध्यानाकर्षण पत्र गत साउन ४ गते सरकारलाई बुझाएको थियो । उक्त विषय कार्यान्वयनका लागि पोखरेलले पार्टीको वार्षिक कार्ययोजनामा विशेष जोड दिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर काम अघि बढाउने, पार्टीमा मूल्याङ्कन विधिलाई व्यवस्थित गर्नेलगायतका एजेण्डा समावेश छन् ।
सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए । भोलि पनि बस्ने बैठकमा आज पेश भएको वार्षिक कार्ययोजनामाथि छलफल हुने जनाइएको छ ।
टिप्पणीहरू