प्रधानमन्त्रीको फलोअर्स बढाउन कस्सियो युवा संघ

प्रधानमन्त्रीको फलोअर्स बढाउन कस्सियो युवा संघ
सुन्नुहोस्

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा फलोअर्स बढाउन कस्सिएको छ । संघका अध्यक्ष क्षितिज थेबेले ग्रुपमा म्यासेज पठाउँदै दुई दिनमा एक लाख फलोअर्स बढाउन सदस्यहरुलाई आह्वान गरेका छन् ।

उनले लेखेका छन्,‘आदरणीय कमरेडहरु,हार्दिक अभिवादन,अब पालो हाम्रो दुई दिनमा एक लाख फलो बढाएर देखाउने हो ।’ अर्जुन सुवेदी फेदीखोला स्याङ्जाले भने पार्टीका सबै नेता–कार्यकर्तालाई गोप्य रुपमा सर्कुलर पठाउन सुझाव दिएका छन् । 

प्रधानमन्त्री ओलीको भेरिफाइड फेसबुक पेज अनफलो गर्नेको बाढी लागेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरुले ओलीको पेज अनफलो गर्ने अभियान नै चलाएका छन् । झण्डै साढे ६ लाख फलोअर्सबाट घटेर हाल पाँच लाख ९१ हजारमा आइपुगेको छ । 

मेयर साहले अस्ति लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्माले आठ वर्षदेखि एक नाबालिकामाथि घरेलु कामदारको नाममा हिंसा गरेको आरोप लगाउँदै स्ट्याट्स पोष्ट गरेका थिए । 

एमाले समर्थकहरुले रिपोर्ट गरेपछि सो स्ट्याट्स साहको फेसबुकबाट गायब भएको छ । यता, साहले हिजो साँझ सरकारमाथि आरोप लगाउँदै अर्को स्ट्याट्स पोष्ट गरेका छन् । उनले लेखेका छन्,‘पोष्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ,हैन भने दोषी समाऊ ।’ 

त्यसपछि साहका समर्थकहरुले धमाधम प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो गर्न थालेका हुन् ।

टिप्पणीहरू