मन्त्रीविरुद्ध अवकाशप्राप्त आईजीपीपछि अरूले पाेखे आक्रोश

मन्त्रीविरुद्ध अवकाशप्राप्त आईजीपीपछि अरूले पाेखे आक्रोश
सुन्नुहोस्

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पूर्वप्रहरीहरुले पत्रकार सम्मेलन गरेका छन् । 

पूर्वप्रहरी कर्मचारी परिषद्, नेपालले सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस चौतारीद्वारा पोखरामा शनिबार आयोजित एक कार्यक्रममा उहाँले प्रहरी प्रमुखको ‘जिब्रो थुत्नुपर्ने’ बताउनुभएको थियो । 

उहाँको सो अभिव्यक्ति अलोकतान्त्रिक, अमर्यादित, अपराधिक तथा गुण्डागर्दी शैलीको भएको परिषद्को आरोप छ । ‘नेपाल प्रहरी प्रमुखको ‘जिब्रो थुत्नुपर्ने’ जस्ता अलोकतान्त्रिक, अमर्यादित र अपराधिक तथा गुण्डागर्दी शैलीको भाषा प्रयोग गर्नुभएको सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति पूर्वप्रहरी कर्मचारी परिषद्, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकारकै कानुन कार्यान्वयन गर्ने अभिन्न अंग प्रहरी संगठनजस्तो गरिमामय संस्थाको प्रमुख प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ भन्ने अशोभनीय भाषा प्रयोग गर्नु नितान्त दुःखद् र लज्जाजनक कुरा हो । यसबाट हामी पूर्वप्रहरीका सकल दर्जा अत्यन्त दुःखी र स्तब्ध भएको छौं ।’

परिषद्ले सञ्चारमन्त्री सुब्बाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेको छ । त्यसैगरी, उहाँलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण पनि गराइएको छ । सम्मेलनमा नेपाल प्रहरीका पूर्वएआईजी तथा परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वडिआईजी तथा उपाध्यक्षद्धय शरदभक्त रञ्जितकार, केशवराज भट्टराई, पूर्वएसएसपी तथा महासचिव गुप्तबहादुर श्रेष्ठ, सशस्त्रका पूर्वएसपी खगेन्द्र बस्नेतलगायत चार दर्जनको उपस्थिति थियो । 

टिप्पणीहरू