सडकमा उत्रेका सबै सक्कली पीडित होइनन् : सहकारीमन्त्री
भूमि तथा सहकारीमन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा ऋण लिएर बढी ब्याजका लागि सहकारीमा पैसा राख्नेहरु वास्तविक पीडित नभएको बताउनुभएको छ । सहकारी पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साना रकम जम्मा गर्ने बचतकर्ताहरु मात्रै वास्तविक पीडित भएको दाबी गर्नुभयो ।
उहाँले मन्त्रालयको कार्यभार सम्हालेसँगै सहकारी पीडितहरुको प्रकृतिबारे राम्रो जानकारी पाएको उल्लेख गर्दै भन्नुभयो, ‘एकथरी आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र अर्काथरी बैंकबाट कम ब्याजमा पैसा लिने अनि सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने छन् ।’ अहिले सडकमा सहकारी आन्दोलन गर्नेहरु त्यस्तै मात्रै रहेको मन्त्रीको दाबी छ ।
दिनभर ज्यालामजदुरी गरेर थोरै रकम जम्मा गर्ने बचतकर्ताहरु भने साँच्चिकै मर्कामा परेको मन्त्रीले बताउनुभयो । संसदीय छानबिन समितिले प्रतिवेदन तयार पारेपछि साना बचतकर्ताहरुको रकम फिर्ता गर्न प्राथमिकता दिइने उहाँको प्रतिबद्धता छ । ‘साना रकम जम्मा गर्ने वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ,’ मन्त्रीको भनाई छ ।
अहिले सहकारी आन्दोलनको नेतृत्व गरिरहेका कतिपयले पीडितसँगै फाइदा लिइरहेको तर्क गर्दै, ‘आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए, अर्कोथरी उद्देश्य पूरा गर्दैछन् ।’
केही सहकारी ठगहरुको कारण जनतामा सम्पूर्ण सहकारीप्रतिको विश्वास गुमेको बताउँदै भन्नुभयो, ‘अहिले सहकारीप्रति विभिन्न किसिमका हो–हल्ला फिँजाउने काम भएका छन्, सहकारी भनेको सबै खराब हुन् भन्ने ट्रेन्ड चलिरहेको छ ।’
तर धेरै सहकारीले राम्रै तरिकाले बचतकर्तालाई उच्च ब्याजसहितको सेवा दिइरहेको उहाँको भनाई छ ।
टिप्पणीहरू