क्युवाको शिक्षा र राजनीतिलाई नेपाली मौलिकतासँग समन्वय गर्न विप्लवको सुझाव
नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच भेटघाट भएको छ । भेटमा महासचिव विप्लवले क्युवाका कार्यवाहक राजदूत अवेल अवेलासँग साम्राज्यवादविरुद्ध क्युवाली जनताको संघर्षप्रति बलियो ऐक्यबद्धता रहेको धारणा व्यक्त गरेको नेकपाले जनाएको छ ।
उनले नेपाली क्रान्तिका लागि दुई मुलुकबीच महत्वपूर्ण समन्वय आवश्यक रहेको पनि उल्लेख गरेका छन् । महासचिवले क्युवाको शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको राजदूतलाई जानकारी गराएका हुन् ।
भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, केन्द्रीय सदस्य प्रकाश शाही, नरेन्द्र विकलगायत उपस्थित भएका थिए । भारतको राजधानी नयाँ दिल्लीस्थित आवासीय राजदूत रहेका अवेल अवेला नेपालका लागि गैरआवासीय राजदूत हुन् ।
टिप्पणीहरू