सेना हो कि निर्माण कम्पनी ?

सेना हो कि निर्माण कम्पनी ?
सुन्नुहोस्

देशले नयाँ प्रधानसेनापति पाउँदैछ । यसलाई पनि राम्रै उपलब्धी मान्नु पर्ला । अरू कुनै नयाँ नपाए पनि प्रधानसेनापति नयाँ पाइएकोमा सन्तोष मानौं । 

नयाँ प्रधानसेनापति आउने भएपछि जान लागेका प्रधानसेनापतिले आफ्नो कार्यकालमा गरेका विशेष कार्यहरूको विवरण सार्वजनिक गर्ने चलन छ । त्यही चलन अनुसार प्रभुराम शर्माले राम्रा कामहरूको लिष्ट सार्वजनिक गर्नुभएको छ । त्यो अरूले पनि देखेकै हुनुपर्छ । तर उहाँले सार्वजनिक गर्नुभएको लिष्ट हेर्दा भने यस्तो लाग्छ, त्यो नेपाली सेनाका प्रधानसेनापतिको होइन बरु नेपालको कुनै ‘ए’ क्लास ठेकेदारको विवरण हो । विवरणमा भनिएको छ– जितपुरगढीको पुनर्निर्माण गरेको, फास्ट ट्राक बनाउने काम अघि बढाएको, चार वटा सुरुङ बनाएको, हुम्लाको राष्ट्रिय सडक बनाएको आदि आदि । 

नेपाली सेनाको कुनै सेनापतिले गर्ने प्रमुख कार्य भनेको यही हो ? बाटो बनाउने, सुरुङ खन्ने, मन्दिर पुनर्निर्माण गर्ने, भवन निर्माण गर्ने । यदि सेनाले गर्ने काम यो हो भने पप्पु कन्स्ट्रक्सनले गर्ने कामचाहिँ के हो नि ? मलाई त शंका लागेको छ, कतै हाम्रा जानेवाला प्रधानसेनापतिज्यूले गल्तीवस उही पप्पु कन्स्ट्रक्सनकै रिपोर्ट त कपी–पेष्ट गर्नुभएन ?

यदि यो साँच्चै प्रधानसेनापतिकै रिपोर्ट हो भने भन्नैपर्ने हुन्छ– नेपाली सेना त पुरै कन्स्ट्रक्सन कम्पनीमा बदलिसकेको रहेछ । ठेकेदारले गर्ने काम अहिले सेनाले गरिरहेको छ । अनि सेनाले गर्ने कामचाहिँ कसले गरिरहेको छ त ? ठेकेदारले ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू