कर्मचारीतन्त्रमा कस्तो होला गुरुमन्त्र

कर्मचारीतन्त्रमा कस्तो होला गुरुमन्त्र

गृह मन्त्रालयमा जान केही सचिव कस्सिएर लागेका छन् । एकनारायण अर्याल मुख्यसचिवमा उक्लिएसँगै त्यहाँ जान लिगलिगे दौड जारी छ । सोमबार अबेर मात्र गोकर्णमणि दुवाडी गृहमन्त्री रमेश लेखकसँग भलाकुसारी गरेर फर्किएका छन् । तर उनीप्रति मन्त्री सकारात्मक छैनन् । 

लामो समय भूमि प्रशासनमा बसेका उनको जग्गा दलालसँग उठबस छ भनिन्छ । केन्द्रीय तथ्यांक विभागमा जानुअघि हरसम्भव प्रयास गरे पनि यसअघि रमेश लेखकको सचिवालयका केही कर्मचारीलाई दुःख दिएका कारण उनलाई गृह नलगिने पक्कापक्की छ । 

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पाँच पटकसम्म सचिव बढुवाको सिफारिसमा परेर समेत उनलाई उकालिएन । त्यतिखेर भूमिव्यवस्था तथा अभिलेख विभागमा महानिर्देशक थिए । बिष्णु रिमालले झापातिरका एक जना सुब्बाको सरुवा गरिदिन आग्रह गरे, टेरेनन् । पछि तिनै सुब्बासँग रकम लिएर सरुवा गरेको उजुरी बालुवाटारसम्म पुगेपछि बढुवा रोकिएको बताइन्छ । उसो त भूमि मन्त्रालयबाट सरुवा भएर हिँड्नुअघि गोकर्णले एकै पटक सुब्बादेखि अधिकृत तहसम्मका ७० बढी कर्मचारीको बेमौसमी सरुवा अगाडि बढाए । नियमित सरुवा असोज‑कार्तिकमा हुने भए पनि आफू हिँड्नुअघि जथाभावी सरुवा गर्दा अहिले ललितपुर मालपोतमा दरबन्दीभन्दा बढी २ र भक्तपुरमा ३ जना खटाइएको छ ।

उता, पत्नी आभा कर्ण र परराष्ट्रमन्त्री आरजु राणा एकै भेगका । यही नाता लाउँदै कृष्णहरि पुष्कर गृहसचिव खान कस्सिएका छन् । उनले बूढानीलकण्ठ र दूतावास दुबै रिझाएको भए पनि मुख मात्र चलाउने स्वभावका कर्मचारीको रूपमा चित्रित छन् । मुकुन्द निरौलालाई गृहसचिव बनाउन खोजिएको हो तर उनले म श्रममै खुशी छु भनेर जबाफ फर्काएका छन् । शरदसिंह भण्डारीजस्ता मन्त्रीको आडमा सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका मुकुन्द नीतिमाथि नै खेलेर उठ्तीपुठ्ती गर्ने प्रशासकका रूपमा चिनिन्छन् । । म्यानपावर व्यवसायीसँग दिउँसै रमाउने गरेको आरोप पनि छ । उता, विनोद सिंह सुदूरपश्चिमतिरकै हुन् । यसअघि नै गृहसचिव चलाइसकेका उनको मन्त्रीसँग ट्युनिङ मिल्ने बताइन्छ तर बूढानिलकण्ठसँग बढी सम्बन्ध रहेका कारण उनलाई सचिव बनाउँदा आफूलाई क्रस गर्लान् कि भन्ने भय छ,मन्त्रीलाई । 

मुख्यसचिवको पहिलो रोलक्रममा रहेका तोयनारायण ज्ञवालीले एकनारायण अर्याललाई पक्कापक्की मुख्यसचिव बनाइने चाल पाएपछि अघिल्लो साता राजीनामा दिए । स्वीकृत पनि भयो । दोश्रो नम्बरमा माओवादीनिकट रामकृष्ण सुवेदी, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले घर जान लाग्दा नचलाऔं भन्दाभन्दै केपी शर्मा ओलीले सार्वजनिक खरिद अनुगमनतिर लखेटिदिए । तेश्रो नम्बरमा रहेका महिला सचिव दिनेश भट्टराईले समेत मुख्यसचिव नियुक्तिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिए । दुई सचिवले छाड्दा गलत सन्देश जाने भन्दै उनलाई राजीनामा दिनबाट रोकेर गृहसचिव बनाउने आश्वासन दिइएको चर्चा छ, प्रधानमन्त्री कार्यालयतिर । 

उता, गृहसचिव नहुँदा तीन जिल्लामा सिडिओ रिक्त छ,४ सहसचिव गृहको बरण्डामा थन्किरहेका छन् भने दरबन्दीभन्दा ११ जना बढी उपसचिवलाई त्यहीँ थन्काइएको स्थिति छ । उता, शहरी मन्त्री प्रकाशमान सिंहले खोजी खोजी मचाकाची महर्जनलाई विभागमा महानिर्देशकको जिम्मेवारी दिएका छन् । काठमाडौं क्षेत्रपाटीका रैथाने सिंहले नरदेवी घर भएका मचाकाचीलाई महानिर्देशक बनाएका हुन् । मर्यादाक्रममा आठौं नम्बरका मचाकाचीलाई त्यहाँ ल्याउँदा चार महिनापछि घर जान लागेका कुमार घिमिरे भने खेदिनेमा परेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू