एकातिर बालेनको आरोप, अर्कातिर एमालेको हस्ताक्षर अभियान

एकातिर बालेनको आरोप, अर्कातिर एमालेको हस्ताक्षर अभियान

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजधानीका नदीतटीय क्षेत्रको मापदण्ड बढाउने सर्वोच्च अदालतको आदेशमा सत्तारुढ नेकपा एमालेले पुनः अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालनी सरकारको बेलामा त्यसबारे अदालतले नयाँ मापदण्डको फैसला गरेको जनाएका छन् । उनले अदालतले नदीको मापदण्ड २० मिटर बढाउन आदेश दिँदा आफू काठमाडौं महानगरको मेयर नरहेको छन् । 

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २० साउन २०७६ मा नदीतटीय क्षेत्रको मापदण्ड २० मिटर थप्ने आदेश दिएको थियो । सोही सन्दर्भ उल्लेख गर्दै उनले लेखेका छन्, ‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ ।’

उपत्यका क्षेत्रका नदीतटीय क्षेत्रको मापदण्डबारे संघीय सरकार र काठमाडौं महानगरबीच विवाद बढेपछि एमालेले हस्ताक्षर अभियान थालेको छ । एमाले काठमाडौं जिल्ला कमिटीले आज बिहान राजधानीको महाराजगञ्जको शंखपार्क, धुम्रबाराही चोक, सुकेधारा चोक तथा बालुवाटारको कीर्तन चोकमा सरोकारवालाहरुको ध्यानाकर्षण भन्दै हस्ताक्षर गराएको छ । सर्वोच्चको निर्णय पुनरावलोकनका लागि हस्ताक्षर गराइएको बताइएको छ ।

टिप्पणीहरू