कन्सुलर सेवा विस्तारका लागि ज्ञानेन्द्रले लेखे आरजुलाई पत्र
राष्ट्रिय प्रज्ञातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सांसद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले अमेरिकामा कन्सुलर सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई पत्र पठाउँदै उनले अमेरिकाको टेक्ससमा कन्सुलर कार्यालयको स्थापनाका लागि आग्रह गरेका हुन् । अमेरिकामा सात लाखभन्दा बढी नेपालीको बसोबास रहेको जनाउँदै पत्रमा वासिङटन डिसीस्थित दूतावासले मात्रै सेवा दिन नसक्ने भएकाले कन्सुलर कार्यालय आवश्यक रहेको उल्लेख छ ।
दूतावास टाढा हुँदा क्यालिफोर्निया, टेक्सस, क्लोराडोलगायत क्षेत्रमा बसोबास गर्ने नेपालीले हैरानी भोग्नुपरेको सांसद शाहीले परराष्ट्रमन्त्री राणालाई अवगत गराएका छन् ।
‘क्यालिफोर्निया, टेक्सस, क्लोराडोलगायतका क्षेत्रमा करिब चार लाख बराबर नेपालीहरु बसोबास गर्दछन् र हाम्रो नेपाली राजदूतावास वासिङटनडिसीमा अवस्थित छ,’ पत्रमा उल्लेख छ, ‘नेपाली दूतावासदेखि क्यालिफोर्नियासम्म ४५२५ किलोमिटर र डालसदेखि डिसीसम्म २१४० किलोमिटर लामो दुरी रहेको छ, त्यहाँ बसोबास गर्ने नेपालीहरुले हरेक कागजी काम कारबाहीका लागि दुःख खेपिरहेको अवस्था छ ।’
उक्त समस्या समाधानका लागि टेक्ससमा एउटा कन्सुलर कार्यालयको स्थापना गर्न माग गर्दै सांसद शाहीले त्यसका लागि आवश्यक पहल गरिदिन परराष्ट्रमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।
टिप्पणीहरू