गभर्नरविरुद्ध ‘जेहाद्’,उनकै होटलमा प्रधानमन्त्रीको उल्लास

गभर्नरविरुद्ध ‘जेहाद्’,उनकै होटलमा प्रधानमन्त्रीको उल्लास
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेको दुई महिने अवधिमा दुई वटा पाँच तारे होटलको उद्घाटन गर्नुभएको छ । उहाँ राजधानीको बूढानीलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरको उद्घाटनका निम्ति आज बिहान त्यहाँ जानुभएको थियो ।

होटल उद्घाटनपछि सोही होटलमा पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित कार्यक्रममा पार्टी र सरकारलाई घेराबन्दीमा पार्न थालिएको रहस्योद्घाटन गर्नुभयो । पाँच तारे होटलमा ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले परिवर्तनको सारथि एमालेलाई कमजोर पार्न प्रतिक्रियावादीहरू दिनरात खटेको प्रसंग उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थिति जटिल छ,हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनविरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती,निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा मान्छेहरू बेशरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।’

उक्त होटलका मुख्य सञ्चालकहरुमा बाबुकाजी कार्की,डा. राजेन्द्र केसी, अम्बिका पौडेल,हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी,दीपक पाण्डे, जनक भट्ट,दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन् । यसअघि उहाँले गत साउनमा नक्सालस्थित होटल हिल्टनको उद्घाटन गर्नुभएको थियो । उक्त होटलका मुख्य साहुजी कोरोना महामारीमा ‘थर्मल गन’ काण्ड मच्चाएर विभिन्न विवादमा मुछिएका साहिल अग्रवाल र उनका बुबा शंकर अग्रवाल हुन् । 

अग्रवालको शंकर ग्रुप नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन महशुल भुक्तानी विवादमा पर्दा पछाडिको खेलाडीको रुपमा परिचित छ । आज उद्घाटित् लेमन ट्रिका लगानीकर्तामध्ये केही सेयर बजारका खेलाडी हुन् । उनीहरुले पछिल्लो चार वर्षदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध ‘जेहाद’ छेड्दै आएका छन् ।

टिप्पणीहरू