सिके राउतमाथि परस्त्री गमनको आरोप
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेपछि ससुराली खलकले उनले श्रीमतीमाथि १० वर्षदेखि घरेलु हिँसा मच्चाएको आरोप लगाएका छन् । श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि उनले ललितपुर जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेका हुन् ।
भारतीय नागरिक सोनी सँधै माइत गएर बस्न खोज्ने,विभिन्न बहानामा झगडा गरिरहने भएकाले सम्बन्ध विच्छेद गर्नुपरेको राउतले फिराद पत्रमा उल्लेख गरेका छन् । उनले सोनीले २०७० सालमै डिभोर्स मागेको पनि खुलाएका छन् । श्रीमतीले बारम्बार डिभोर्सका लागि दबाब दिएपछि आफूले बाध्य भएर मुद्दा दर्ता गर्नुपरेको अध्यक्ष राउतको दाबी छ ।
तर सोनीका माइती पक्षको राउतले एक दशकदेखि श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोप छ । सोनीले सिकेलाई पटक–पटक परस्त्रीसँग रंगेहात फेला पारेको ससुराली पक्षको दावी छ । भनिएको छ, ‘गत स्थानीय तह निर्वाचनअघि र उपराष्ट्रपति निर्वाचनपछि उनी त्यस्तै अवस्थामा फेला परेकाले दम्पतीबीच झडप भएको थियो । सो क्रममा सिके, सोनी र सँगै फेला परेकी महिलालाई चोटपटक लागेको थियो ।’
पटक पटक राउत महिलासँग फेला परेपछि सोनीले एक पटक विष सेवनको प्रयास गरेको माइती पक्षले बतायो । सोनीको परिवारसँग यसबारेमा महिला अधिकारकर्मीले गरेको फोन सम्पर्कमा उनीहरुले उक्त विषय पहिले अदालतमा राख्ने बताएका छन् । त्यसको दुई दिनपछि सिके राउतले मुद्दा दायर गरेकाले आफूहरु ललितपुर जिल्ला अदालतमा उपस्थित हुन तयार रहेको माइतीका एक जना सदस्यको भनाई छ ।
राउतको ससुराली भारतीय राज्य बिहारको पूर्णिया जिल्ला सिमरिया ग्राम पञ्चायत वडा नम्बर ३ हो । सोनी उमेश सिंहकी छोरी हुन् । सामान्य लेखपढ गरेकी सोनीले लामो समयदेखि घरेलु हिंसामा परेको बताइन् । राउत दम्पतीका दुई सन्तानमध्ये जेठो छोरा १३ वर्ष र कान्छी छोरी ८ वर्षकी छन् ।
यता राउतले श्रीमती र छोराछोरीलाई हालसम्म सार्वजनिकस्थलमा लगेको कसैले पनि देखेका छैनन् । पछिल्लो समय उनी ओशोमा लागेपछि बालाजु नागार्जुनको छेउ तपोवनमा बढी जाउआउ गर्न थालेका हुन् ।
पछिल्लो चुनावको छेको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा घर किनेका राउतको स्थायी ठेगाना सप्तरीको महादेवा गाउँपालिका–२ हो । तर,उनले अदालतमा मुद्दा दायर गर्दा ठेगाना महालक्ष्मी नगरपालिका–४ उल्लेख गरेका छन् ।
टिप्पणीहरू