माओवादीले बैठक चल्न नदिने, सत्तारुढ दलहरु उपसभामुख हट्नुपर्ने अडानमा
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । माओवादी सांसदहरुको अवरोधपछि गत साता स्थगित बैठक आज राखिएको छ । आजको बैठकमा दुई वटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठकले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । आजै राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्दैछ । तर, एमाले सांसद तथा सचिव योगेश भट्टराईले माओवादीको जनयुद्धलाई सशस्त्र युद्धको संज्ञा दिएकाले उक्त शब्द संसदको रेकर्डबाट नहटेसम्म माओवादी केन्द्रले सदनको बैठक अवरुद्ध पार्ने चेतावनी यसअघि नै दिइसकेको छ ।
यता, अमेरिकी भिसा प्रकरणमा मुछिएकी उपसभामुखले राजीनामा दिनुपर्ने काँग्रेस र एमालेको अडान कायम छ । उपसभामुख इन्दिरा रानामगरले पदीय दुरुपयोग गरेको भन्दै दुबै दलले उनी पदमा बस्न अयोग्य भएको निष्कर्ष निकालिसकेका छन् । रानामगरको पार्टी रास्वपा र माओवादी केन्द्रले उपसभामुख हटाउने प्रयास गरिएको सशक्त प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
टिप्पणीहरू