प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति
सुन्नुहोस्

काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह लक्षित प्रधानमन्त्री केपी शर्मा ओलीको आक्रमक टिप्पणीलाई लिएर नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद शंकर भण्डारीले असन्तुष्टि जनाएका छन् । 

ओलीले हिजो पार्टीको एक कार्यक्रममा बालेनलगायत विपक्षी दल र नेताहरु चर्को निन्दा गर्दै कार्यकर्तालाई प्रतिवादमा उत्रन आदेश दिएका थिए । सामाजिक सञ्जालमा विपक्षीविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन कार्यकर्तालाई कडा निर्देशन दिँदै उनले प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपालगायतका नयाँ राजनीतिक दल र काठमाडौँका मेयरमाथि कटाक्ष गरेका थिए । 

प्रधानमन्त्री  तथा एमाले अध्यक्षको त्यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसद भण्डारीले पदीय मर्यादा अनुकूलका अभिव्यक्ति दिन आग्रह गरेका छन् । 'मुलुकमा संयमताको खाँचो' भन्दै उनले विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न अनुरोध गरे ।  

'केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो हलत लिने तथा आलोचना गर्न सिंगो पार्टीपंतिलाइ निर्देशन दिने विषय त्यति सुहाउँदो लागेन', आज जारी विज्ञप्तिमा भनिएको छ, 'देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति भएकाले उहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।'

टिप्पणीहरू