जेलमुक्त भएलगत्तै दिल्लीका मुख्यमन्त्रीद्वारा पद त्यागको घोषणा
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पद छोड्ने घोषणा गरेका छन् । आज आम आद्मी पार्टीको केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले दुई दिनभित्रमा राजीनामा दिने बताएका हुन् ।
गत शुक्रबार धरौटीमा रिहा भएका केजरीवालले अब विधायक बैठकले नयाँ मुख्यमन्त्री चुन्ने जानकारी गराए । उनले आफूमाथि लागेका आरोपबारे जनताले गर्ने निर्णय नै आफूलाई स्वीकार्य हुने बताएका छन् । त्यसकारण पदबाट राजीनामा दिएर सडकमा उत्रने उनको भनाई छ ।
‘भारतीय जनता पार्टी (भाजपा)ले ममाथि जुन बेइमानी र भ्रष्टाचारीको आरोप लगाएको छ, त्यो अब जनताको अदालतले फैसला गर्नेछ । दुई-तीन दिनभित्र मैले राजीनामा दिने घोषणा गर्दछु’, उनले भनेका छन् ।
आगामी फेब्रअरीमा हुने विधानसभाको चुनावसम्म आफू कुनै पनि पदमा नबस्ने केजरीवालले बताए । भारतीय सञ्चार माध्यमका अनुसार सम्बोधनको क्रममा उनी भगत सिंहको पुस्तक ‘भगतसिंहको जेल डायरी’ लिएर उपस्थित भएका थिए ।
पुस्तकका केही अंशहरु सुनाउँदै उनले भने, ‘भगत सिंहले जेलबाट लेखेका चिठ्ठीहरु बेला बेला जनतासम्म पुर्याईने व्यवस्था थियो । तर भाजपाले ममाथि यति निरकुंश व्यवहार गर्यो कि, मैले लेखेका चिठीहरु जेलमै च्यातेर फालिदियो ।’
स्मरण रहोस्, १७७ दिनको जेल बसाईपछि भारतको सर्वोच्च अदालतको आदेशले केजरीवाल अस्ति १० लाख धरौटी बुझाएर रिहा भएका थिए । मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई भारती प्रर्वतन निर्देशनालय (इडी)ले गत मार्च २१ मा मुख्यमन्त्री निवासबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो ।
टिप्पणीहरू