मगन्तेमुक्तपछि सडक बालबालिकारहित मुलुकको कल्पना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चालु आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र बनाउने दाबी गर्नुभएको छ । अघिल्लो कार्यकालमा गरेको ‘मगेन्तमुक्त’ सडक बनाउने घोषणा पुरा हुन नपाउँदै उहाँले सडक बालबालिकामुक्त राष्ट्रकोे घोषणा गर्नुभएको छ ।
उहाँले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले सडक बालबालिकाको अवस्था बदल्ने संकल्प लिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिलेपनि ठूलो संख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकविहिन छन् । उनीहरु शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्था छ । यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको छ ।’
नेपाल बाल संगठनद्वारा यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ लाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै उहाँले बालिबालिकाहरु उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताउनुभयो । संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्न आवश्यक रहेकोतर्फ पनि प्रधानमन्त्रीले औंल्याउनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने निर्णय गरेको छ । गत साउन २९ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि उहाँले सडक बालबालिकामुक्त राष्ट्र बनाउने उद्घोष गर्नुभएको थियो ।
चालु आर्थिक वर्षभित्रै सडक बालबालिकामुक्त राष्ट्र बनाउनेगरी काम अगाडि बढाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । विगतमा गरिएको मगन्तेमुक्त घोषणा कागजमा सीमित भएको छ । राजधानीका अधिकांश सडकमा भिख माग्नेहरुको संख्याका पहिलेको तुलनामा झन् बढेको देखिन्छ ।
टिप्पणीहरू